अपाङ्गतामैत्री कानून बनाउछौँ : मन्त्री रावल

रिता घिसिंग

सुर्खेत, १९ असोज : कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली प्रदेशमा अपाङ्गतामैत्री कानून निर्माणमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री रावलले अपाङ्गता भएका व्यक्तिको हितमा सरकारले नीति तथा कानून बनाउने उहाँले जनाउनुभयो ।

“समाजको सबैभन्दा संरक्षणको पर्खाइमा रहेको विपन्न वर्गले परिवर्तनको महसुस गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “यसका लागि सामाजिक न्यायको अनुभूति दिलाउने कानून निर्माण गर्छौं ।”

उहाँले अपाङ्गता अधिकारसम्बन्धी महासन्धि अनुमोदन, नेपालको संविधान, अपाङ्गता अधिकार ऐनदेखि विभिन्न कानून केन्द्रीयस्तरमा बनिसकेको हुँदा कार्यान्वयन गर्न र प्रदेशमा रुपान्तरण गर्नमा समेत पहल गर्ने बताउनुभयो । नेपालको परिवर्तनमा अपाङ्गता आन्दोलन नागरिक आन्दोलनका रुपमा अघि बढेको उहाँको तर्क थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका कार्यवाहक अध्यक्ष देवीप्रसाद पोख्रेलले मुलुकमा थुप्रै परिवर्तन भए पनि अपाङ्गता भएका व्यक्तिलाई संरक्षणको अभाव र जीवनयापनमा कठिनाइ भएको दुखेसो गर्नुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारले अभिभावक बन्न आग्रह गर्दै उहाँले भन्नुभयो, “मुलुक विकास र परिवर्तनको लामो कालखण्डमा अपाङ्गता भएका व्यक्तिको योगदान ठूलो छ, यो वर्गको भूमिका र पीडा भुलिनु हुँदैन ।”

महासङ्घले सातवटै प्रदेशमा आफ्नो संस्थागत संरचना अगाडि बढाई सकिएको महासङ्घका केन्द्रीय सदस्य नेत्रबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशको प्रथम अधिवेशनमा राजधानी सुर्खेतमा यहाँका १० वटै जिल्लाबाट अपाङ्गता भएका व्यक्तिको सहभागिता रहेको छ ।
–रासस

प्रतिक्रिया