सङ्घीयता विरोधीले करको भ्रम फैलाए : मन्त्री गुरुङ

admin

दमौली, १९ असोज: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सङ्घीयता विरोधीले अनावश्यकरुपमा करको भ्रम फैलाएको बताएका छन् । लायन्स क्लब अफ शुक्लागण्डकी टाउनको आयोजनामा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आजदेखि शुरु भएको ‘शुक्लागण्डकी लायन्स महोत्सव’को उद्घाटन गर्नुहुँदै उहाँले सामाजिक सञ्जालबाट अनावश्यकरुपमा करको भ्रम सिर्जना भएको बताउनुभयो ।

“सङ्घीयता विरोधीले करको भ्रम सिर्जना गरिरहेका छन्” उहाँले भन्नुभयो, “त्यसको पछाडि नलाग्न म सबै सर्वसाधारणलाई आग्रह गर्दछु ।” मन्त्री गुरुङले राज्यले जनतालाई मार नपार्ने गरी कर उठाउनेसमेत बताउनुभयो । उहाँले मुलुक समृद्ध बनाउन देशलाई योगदान गर्नुपर्ने भन्दै भन्नुभयो, “कर तिरेमात्रै मुलुक समृद्ध हुन्छ ।” उहाँले कर छल्ने, ठग्नेजस्ता काम बन्द गर्न आग्रह गर्दै कर तिरे मात्रै नेपाली नागरिक भइनेसमेत बताउनुभयो ।

गुरुङले समृद्ध प्रदेश अभियानमा सबै सामाजिक सङ्घसंस्थाको साथ आवश्यक रहेको बताउनुभयो । उहाँले नेपालीको मौलिक संस्कृति र पहिचानलाई जोगाएर राख्नुपर्नेमा जोड दिनुभयो । “सांस्कृतिक हिसाबले हामी कहिल्यै गुलाम भएनौँ, सांस्कृतिक हिसाबले हामी कहिल्यै पराधिन भएनौँ, भौगोलिक हिसाबले पनि कहिल्यै पराधिन भएनौँ,” उहाँले भन्नुभयो, “हाम्रो आफ्नै मौलिक संस्कृति छ, हाम्रो आफ्नै मौलिक पहिचान र त्यसलाई जोगाएर राख्नुपर्छ ।” मन्त्री गुरुङले संस्कृतिलाई विकास गर्नका निमित्त पर्यटनसँगै जोडेर अगाडि लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य आशा कोइरालाले शुक्लागण्डकी पर्यटनको केन्द्रबिन्दु बन्न सक्ने बताउनुभयो । महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप थापाले जनतालाई आयआर्जनमा लाग्न प्रोत्साहन गर्ने, कृषि पर्यटनलाई विकास गर्ने तथा समग्र शुक्लागण्डकीको विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताउनुभयो । महोत्सवमा करीब रु दुई करोड बराबरको आर्थिक कारोवार हुने अनुमान गरिएको प्रवक्ता दुर्गाकुमार श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव असोज २७ गतेसम्म सञ्चालन हुनेछ ।
-रासस

प्रतिक्रिया