नहर निर्माणले किसानमा खुशीयाली

रिता घिसिंग

भीमदत्तनगर, २१ असोज : कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्काका ४८ वर्षीया मनवीर टमटा शुक्रबार बिहान गाउँ नजिकै निर्माण व्यवसायीको क्याम्प नजिकै मजदूरी गरिरहेको अवस्थामा भेटिनुभयो ।

विसं २०४६ मा बझाङ्को बुगङ्लबाट बसाइँ सरेर यहाँ आउनुभएका टमटाको लामो समयदेखि रोजगारीको गन्तव्य भने भारतको बैङ्लोर बन्यो । केही समयअघि घर आएका टमटा बस्तीको विकास देखेर भने दङ्ग पर्नुभएको छ । कञ्चनपुरको उत्तर सिरानमा रहेको चुरेसँगै जोडिएको बस्ती हो भम्का । भौगोलिकता विकटतासँतै विभिन्न खाले समस्यासित ग्रसित भम्का पछिल्लो समय विकासको ढोका खल्न थालेको स्थानीयवासीको भनाइ छ ।

“पहिले कुवा खनेर गाउँले मिलेर पानीको प्यास मेटायौंँ” टमटाले विगत सम्झिदै भन्नुभयो,“अहिले त गाउँको बीचबाट नहर बन्ने खुशीले गाउँले दङ्ग छन् ।” राम्रोसित खानेपानीको समेत प्यास मेटाउन नपाएका स्थानीयवासी नहर निर्माणसँगै सिँचाइको प्रबन्ध हुने भएपछि खुशी छन् । “अहिले पनि खेती र सिँचाइका लागि आकाशको पानीकै भर पर्नुपर्छ,” टमटाले रासससित भन्नुभयो, “पहिलेको भन्दा त अहिले गाउँमा धेरै विकास भइसक्यो ।”

गाउँबाट डेढघण्टा हिँडेर बेदकोटकै सिसैया पुगेर कुटानीपिसानी गर्नुपरेको विगत सम्झिदै उहाँले भन्नुभयो,“देशको अवस्था ठीक भए त विकासमा समय नै नलाग्दो रै छ ।” विसं २०५५ पछि मात्रै पानीका लागि गाउँमा नल्का जडान गर्न थालिएको उहाँले बताउनुभयो । “अहिले चुरेको चोरपानीबाट पाइप जडान गरेर गाउँमा सार्वजनिक धारा समेत जडान गरिएका छन्,” टमटाले भन्नुभयो,“अहिले त सडक पनि धेरै बनिसके ।”

बस्तीमा लामो समयदेखि सिँचाइको समस्या रहेको बताउँदै स्थानीयवासी गगने ओखेडाले आकाशको पानीको भरपर्दा धेरै पटक खेत नै बाझो रहेको बताउनुभयो । “अहिले त गाउँमै ठूलो नहर बन्दै छ,” उहाँले भन्नुभयो, “मुआब्जाको काम सकेर नहर छिटो निर्माण गर्न गाउँलेले पनि सहयोग गर्नुपर्छ ।” उक्त क्षेत्रमा स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकासका गतिविधि बढेको उहाँको भनाइ छ ।

तीन वर्षअघि बझाङ्बाट बसाइँ सरेर यहाँ आउनुभएका ओखेडाले गाउँमै खेती किसानीबाट परिवारको जोहो गरिरहेको बताउनुभयो । महाकाली सिँचाइ तेस्रोचरण अन्तर्गत बेदकोट नगरपालिकादेखि शुक्लाँफाटा नगरपािलकोको फुलेली गाउँसम्म १५ किलोमिटर नहर निर्माणको अन्तिम तयारी भइरहेको छ ।

तेस्रोचरण अन्तर्गत महाकाली सिँचाइ आयोजनाले झण्डै १३ किलोमिटर नहर निर्माण गरिसकेको छ, भने नहरको शुरुआतमा भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणले पनि गति पाउदा तत्काल महाकाली नदीबाट नहरमा पानी आउने सम्भावना बढी छ । थप १५ किलोमिटर नहर निर्माण तीन प्याकेजमा ठेक्का सम्झौता भई अघि बढेको छ । उक्त नहर निर्माणका लागि रु दुई अर्ब १० करोडको ठेक्का सम्झौता भएको छ । त्यसका साथै झण्डै १६ किलोमिटर नहर क्षेत्रमा करीब ३५ हेक्टर जमीनधनीलाई जग्गा अधिग्रहण गरेबापत मुआब्जा दिनुपर्ने छ ।

बेदकोट नगरपालिमादेखि केही भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसम्म गरी झण्डै पाँच किलोमिटर नहर निर्माणको जिम्मा पाएको कुमार, स्वच्छन्द, शर्मा जेभिका इञ्जिनीयर किशोरराज पाण्डेयले नहर निर्माणको तयारी भई काम अघि बढिसकेको बताउनुभयो । “क्याम्प बनाउनेदेखि सर्वेसम्मको काम भइसक्यो,” उहाँले भन्नुभयो, “जग्गा मुआब्जाको काम सकिएपछि निर्माणले गति पाउँछ ।” उहाँले नहर खन्ने बाहेक खोलानालामा पुल, ग्राभेल सडक लगायतका निर्माणका काम शुरु हुन लागेको बताउनुभयो ।

त्यसैगरी बेदकोट नगरपालिका–२ का वडाध्यक्ष नरेशबहादुर सिंहले भम्का जिल्लाकै पुरानो बस्ती भएको बताउँदै लामो समयदेखि बन्न नसकेको सडक पूर्वाधार निर्माण भएको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, खेलकूदका क्षेत्रमा गतवर्ष पनि हामीले बजेट विनियोजन गरेका थियौँ,” वडाध्यक्ष सिंहले भन्नुभयो, “यहाँ व्यवस्थित बसोवासका लागि पहल भइरहेको छ ।” बेदकोट नगरपालिकाले नगरपालिभित्र व्यवस्थित बसोवासका लागि पहल थालेको बताउनुभयो ।

“धेरै स्थानीयवासीसित अझै जग्गाको पूर्जा छैन,” उहाँले भन्नुभयो, “जनताको जग्गा, जनताकै नाउँमा हाल्न हामी केन्द्रसम्म पहल गरिरहेका छौँं ।” वडाको चालू आर्थिक वर्ष २०७५÷७६ मा रु ६५ लाख बजेट रहेको बताउँदै सिंहले जनचाहनाअनुसार योजना छनोट गरी खर्च गरिने बताउनुभयो । रासस

प्रतिक्रिया