आलु बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा

रिता घिसिंग

दाङ २१ असोज : हिउँदे आलु रोप्ने समयमा बजारमा बीउको मूल्यमा एकरुपता नहुँदा किसान मर्कामा परेका छन् ।

तुलसीपुर बजारमा पसलैपिच्छे फरक फरक मूल्यका कारण किसान मारमा पर्नुका साथै कुन पसलबाट आलुको बीउ किन्ने भन्ने अन्योलमा छन् । तुलसीपुर बजारमा आलुको बीउ किन्न आउनुभएकी तुलसीपुर उपमहानगरपालिका–७ का ४० वर्षीया ममता रेग्मीले आफू पाँचवटा पसलमा गएको र प्रत्येक पसलमा आलुको बीउको मूल्यमा फरक पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एउटै आलुको पसलैपिच्छे फरक छ,” उहाँले भन्नुभयो, “उपभोग्य वस्तुसहित फलफूल, तरकारीको प्रभावकारी अनुगमन गर्न नसक्दा आफूहरु चर्को मूल्य तिर्न बाध्य भएका छौँ ।” त्यसैगरी दङ्गीशरण गाउँपालिका–३ रावत गाउँका शोभा अधिकारी एउटै आलुको फरक÷फरक मूल्य पाएपछि बीउ किन्न अन्योल भएको बताउनुहुन्छ ।

अहिले तुलसीपुर बजारमा मात्र होइन नारायणपुर, घोराही, लमही, भालुबाङलगायतका बजारमा फरक÷फरक मूल्यमा आलुको बीउ बिक्री हुने गरेको छ । उपभोक्ताले मूल्यमा एकरुपता ल्याउन सरोकारवाला निकायसँग माग गरेका छन् । तुलसीपुर बजारमा आलुको बीउ लिन आएका तुलसीपुर– ४ खर्चबाका तिलक चौधरी सम्बन्धित निकाय मौन बसेपछि मारमा परेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “कालाबजारी गर्नेलाई कारवाही गरिनुपर्छ ।” सरोकारवाला निकायले प्रभावकारी रुपमा अनुगमन नगर्दा उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा दुई हजार २०० हेक्टर जमीनमा आलुखेती हँुदैआएको सरकारी तथ्याङ्क छ ।
–रासस

प्रतिक्रिया