उपप्रधानमन्त्री पोख्रेलद्वारा गण निरीक्षण

रिता घिसिंग

दमौली, २१ असोज : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आज व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गर्नुभएको छ । तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका उपप्रधानमन्त्री पोख्रेलले उक्त गणको स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिनुभयो ।

उपप्रधानमन्त्री पोख्रेलले आज नै भानु नगरपालिका–१ मा रहेको नेपाली सेनाको बारुदखानाको समेत निरीक्षण गर्नुभएको छ ।

सबैको एउटै लक्ष्य आर्थिक विकास र समृद्धि

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आर्थिक विकास र समृद्धि सबै पार्टीको साझा लक्ष्य भएको बताउनुभएको छ । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठका बुबा स्व केवलबहादुर श्रेष्ठको १३ औँ दिनको पुण्यतिथिमा आज दमौलीमा आयोजित श्रद्धाञ्जलीसभामा रक्षामन्त्री पोख्रेलले आर्थिक विकास र समृद्धिका लागि लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जुनसुकै पार्टीमा बाँधिए पनि वा पार्टी बाहिर रहे पनि सबैले आर्थिक समृद्धि र विकासको लक्ष्य बनाउनुपर्छ ।” नौ÷नौ महीनामा सरकार ढल्ने दुर्भाग्य सिलसिलाबाट नेपालले मुक्ति पाएको चर्चा गर्नुहुँदै उपप्रधानमन्त्री पोख्रेलले अब नेपाली जनताले राजनीतिक अस्थिरताको दुष्चक्रमा पर्नु नपर्ने बताउनुभयो ।

आर्थिक समृद्धिका लागि सबै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने आवश्यकतामा जोड दिनुहुँदै उहाँले आर्थिक समृद्धिका लागि सहकार्य र सहमतिमा जोड दिनुभयो । “हामीले प्रतिस्पर्धा राजनीतिमा ग¥यौँ, प्रतिस्पर्धाको परिणाम पनि हामीले पायौँ,” उहाँले भन्नुभयो, “अब विकास र निर्माणका लागि साझा सहमति र सहकार्य गर्ने, एकताबद्ध भएर अघि बढ्ने अर्को बाटो हुन सक्दैन ।”

जनतासँग कबुल गरेका सबै प्रतिबद्धता पूरा गरेर छाड्ने उपप्रधानमन्त्री पोख्रेलले बताउनुभयो । “अहिले यतिबेला सबै कुरा सलल बगेको जस्तो देखिएन भनेर अन्यथा लिनु जरुरी छैन,” उहाँले भन्नुभयो, “हिजो चुनावका बेलामा जुन प्रतिबद्धताहरु गरेका थियौँ, ती सबै कुरा पूरा गर्छौं ।”
–रासस

प्रतिक्रिया