तेह्र सय हेक्टरमा हिउँदे मकै खेती

रिता घिसिंग

तुलसीपुर, २३ असोज : जिल्लाको देउखुरी क्षेत्रमा एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती गरिने भएको छ ।

अहिले उक्त क्षेत्रमा करीब हजार हेक्टरमा मकै खेती शुरु भइसकेको छ भने बाँकी ३०० हेक्टरमा पनि छिट्टै नै हिउँदे मकै खेती हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन एकाइ (मकै सुपरजोन) लमही दाङले जनाएको छ। कार्यालयका कृषि अधिकृत पीताम्बर बस्नेतका अनुसार अहिले लमही नगरपालिका र राप्ती गाउँपालिकामा हिउँदे मकै रोपी सकिएको छ । गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा हिउँदे मकै खेतीको तयारी थालिएको उहाँले बताउनुभयो । परियोजनाले चालू आवदेखि गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा कार्यक्रम विस्तार गरेको हो ।

जिल्लामा मकै उत्पादन बढाएर आयातलाई रोक्ने लक्ष्यसाथ परियोजनाले काम गरी रहेको अधिकृत बस्नेतले बताउनुभयो । वसन्त तथा हिउँदको समयमा मकैको उत्पादनमा समेत तीन गुणा बढ्ने उहाँको भनाइ थियो । उत्पादनमा वृद्धि हुने भएपछि यो खेतीमा कृषक आकर्षित भएका छन् ।

यो समयमा हरियो मकैसमेत सहजरुपमा बिक्री हुने गरेको छ जुन अन्य समयमा भन्दा महँगो पर्छ । एक कट्ठामा करीब दुई हजार २०० घोगा मकै हुने गरेको बस्नेतले बताउनुभयो । जिल्लामा तीन बाली मकै खेती गरिने परियोजनाले जनाएको छ । परियोजनाले उत्पादनको आधारमा कृषकलाई अनुदानसमेत दिने गरेको छ । कृषकलाई प्रविधिको प्रयोग गरी खेती गरेमा प्रतिहेक्टर रु १० हजारका दरले रकमसमेत दिने गरेको छ ।

अहिले खेती गर्नको लागि जनशक्ति नहँुदा खेतीयोग्य जमीन बाँझो राख्ने गरिएको छ । परियोजनाले मशिन खरीदमा ५० प्रतिशत अनुदान दिने गरेको छ । मकै खेती गरेको स्थानमा सहजरुपमा सिँचाइको सुविधा नभएको स्थानका लागि सिँचाइमा समेत अनुदान दिने गरेको छ । सौर्य उर्जामार्फत सिँचाइ पु¥याउन परियोजनाले ८५ प्रतिशत ब्योहोरी दिने गरेको छ । कृषकले १५ प्रतिशत लगानी गर्नुपर्छ ।
–रासस

प्रतिक्रिया