ललितपुर, २४ असोज: नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चाडपर्वले एकापसका बीच आदार र सद्भाव बढाउने बताउनुभएको छ । गण्डकी सामाजिक गुठीको २३औँ वार्षिक साधरणसभाका अवसरमा आज प्रतिष्ठानको कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले चाडपर्वकको धार्मिक र सांस्कृतिक महत्वसँगै सामाजिक सद्भावका हिसाबले महत्व रहेको बताउनुभयो । हरेक व्यक्ति सकारात्मक सोच राख्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “त्यसैले कुनै व्यक्ति वा संस्थाका बारेमा टिप्पणी मात्रै भन्दा पनि आलोचनात्मक सुझाव दिनुपर्छ ।” साझा सवालमा सरकार वा एउटा दल मात्रै भन्दा पनि सबै मिलेर हातेमालो गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
योगी विकासानन्दले सकारात्मक र नकारात्मक दुवै सोचाइ मानिसको मनमै रहेको बताउनुभयो । मानिस अघि बढ्नका लागि डर र लोभ त्याग्नुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “धेरै मान्छे क्षमता हुँदाहुँदै पनि डरका कारणले माथि जान सक्दैनन् ।” कार्यक्रममा स्रष्टाहरुले कवितामार्फत दशैँ–तिहारलगायत चाडपर्वको शुभकामना दिएका छन् ।
-रासस