रसुवा, २४ असोज : लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको पदयात्राका लागि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत शिव गैह्रेका अनुसार साउन र भदौ वर्षा ऋतुमा ६५५ पर्यटक आएकामा शरद् ऋतुमा दैनिक ९०–१०० जना आएका छन् । पर्यटकको आगमनले स्थानीयस्तरमा चहलपहलसमेत बढ्न थालेको बताइएको छ ।
पर्यटकको आगमनले निकुञ्जको प्रवेश शुल्कवापत पर्यटकबाट मूल्य अभिवृद्धि करसमेत करीब रु ७० लाख राजस्व सङ्कलन भइसकेको लाङ्टाङ राष्ट्रिय निकुन्ज कार्यालयले जनाएको छ । नेदरल्याण्ड्स, अष्टे«लिया, बेलायत, स्विट्जरल्याण्ड, जर्मनी, फ्रान्स, इजरायल, दक्षिण कोरिया, अमेरिकालगायत देशका पर्यटकको आगमन भरहेको छ । गत वर्ष यस अवधिमा दुई हजार ९७८ पर्यटक आएका थिए भने यस वर्षको असोजभरमा करीब तीन हजार ५०० पर्यटक आउने अनुमान गरिएको निकुञ्ज प्राविधिक रमेश बस्नेतले बताउनुभयो ।
गत वर्ष एक आर्थिक वर्षभर १३ हजार ७८९ विदेशी पर्यटकको आगमन भएको जनाइएको छ । पर्यटकहरु लाङ्टाङ क्षेत्रको मनमोहक दृश्य, गोसाइँकुण्ड एवं स्थानीय कला, संस्कृति, वेशभूषा, अवलोकन गरी फर्कने गरेको स्थानीय व्यवसायीले बताएका छन् । स्याफ्रुबेंसीबाट एउटा मार्ग खाम्जिङ, शेर्पागाउँ र अर्काे मार्ग खोलाको तीरैतीर जाने भएको बताउँदै घोडा तबेलाका पर्यटन व्यवसायी ढिण्डुप तामाङले स्याफ्रुबाट पर्यटक हिँडेपछि एक दिन लामा होटल र अर्काे दिन समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइको क्याङ्जिन पुग्ने गरेका छन् ।
पर्यटकले क्याङ्जेनबाट दिनहुँ अग्लो स्थानको अवलोकन गर्ने गरेका छन् । क्याङ्जेन पुगेका पर्यटकको बसाइ कम्तीमा तीन दिन हुने भएका कारण पर्यटकीय होटल व्यवसायीले यामअनुसार मनग्य आम्दानी गर्ने गरेको बताइएको छ । एउटा पर्यटकले खानपिनमा कम्तीमा रु दुई हजार खर्च गर्छन् । व्यवसायीको सेवाले घरमै बसेर मनग्य आम्दानीको वातावरण सिर्जना भइसकेको लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले बताउनुभयो ।
विसं २०७२ को भूकम्प जाँदा हिमाली पर्यटकीय स्थानको पूरै क्षेत्र मानवविहीन हुन पुगेको अवस्थामा दाताको सहयोग र स्थानीय बासिन्दाको मेहनतबाट अहिले लाङटाङ क्षेत्रको पुनःनिर्माण भई सुधारोन्मुख भएको छ । होटल लज निर्माण भएको, कादुर संस्थाको सहयोगबाट १०० किलोवाट क्षमताको विद्युत् उत्पादन भई वितरण भैसकेको छ । होटेल लजमा आएका पाहुनालाई नुहाउन तातोपानीको समेत व्यवस्था छ । उच्च हिमाली पर्यटकीय क्षेत्र लाङ्टाङको क्याङ्जेन सुदृढ भैसकेकाले अब ५०० भन्दा बढी पर्यटकले त्यस क्षेत्रमा बास लिन सहज हुने स्थानीय व्यवसायी नेरुप तामाङले जानकारी दिनुभयो ।
ठूलोस्याफ्रु क्षेत्रमा समेत पर्यटकको चहलपहल ह्वातै बढेको ठूलोस्याफ्रुका तेम्बा लामा(भूकम्प लामा)ले बताउनुभयो । धुञ्चेतर्फबाट गोसाइँकुण्ड जाँदा एक रात चन्दनबारी र अर्को दिन १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा पर्यटक पुग्ने गरेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले जानकारी दिनुभयो । तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गत्लाङ, चिलिमेको पुरानो तातोपानी, नागथली, थुमन, टिमुरेको खैदी हुँदै बृद्धिमसम्मको क्षेत्रमा समेत पर्यटक फटफुट रुपमा जाने गरेका छन् । पर्यटकको सेवावाट केही हदसम्म आय आर्जनमा टेवा पुगेको चिलिमेका रामबहादुर तमाङले बताउनुभयो ।
-रासस