काठमाडौँ, २५ असोज (रासस) : नेपाली सेनाको सैनिक इन्टेलिजेन्स शिक्षालय समूहका प्रशिक्षार्थीले आज राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको अवलोकन गरी यसको समाचार सेवा प्रवाहका बारेमा जानकारी लिएका छन् ।
सेनाका क्याप्टेन शिञ्यान मोक्तान नेतृत्वमा आएकोे समूहले राससमा समाचार सङ्कलन, सम्पादन, तस्वीर तथा अडियो सम्पादन, अङ्ग्रेजी र अन्तर्राष्ट्रिय शाखाको सम्पादनका कामबारेमा जानकारी लिएको हो ।
सो अवसरमा राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससले राज्यको सत्य÷तथ्य, आधिकारिक, विश्वसनीय समाचार प्रवाह गर्ने अगुवा संस्थाको रुपमा काम गरिरहेको जानकारी गराउनुभयो ।
उहाँले सूचना र समाचारको अस्वस्थ्य प्रतिस्पर्धाबीच राससले समाजलाई सही दिशानिर्देशन र द्वन्द्व न्यूनीकरण गर्न निरन्तर समाचार सेवा दिने बताउनुभयो । अध्यक्ष श्यामलले राससले भावी दिनमा राससले प्रादेशिक भाषामा समेत बुलेटिन प्रकाशनको तयारी गरेको जानकारी गराउनुभयो ।
राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, प्रशासन प्रमुख उत्तम सिलवाल, उपप्रमुख समाचारदाता शरच्चन्द्र भण्डारी र वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपानेलगायतले राससका समाचार सेवा र गतिविधिबारे जानकारी गराउनुभएको थियो ।