justnep home

स्थानीय सरकार बलियो बनाउन कानूनमन्त्रीको आग्रह

admin

घोडाघोडी, २५ असोज : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले स्थानीय सरकार बलियो बन्न सके मात्रै प्रदेश र सङ्घीय सरकार बलियो बन्ने बताउनुभएको छ ।

प्रदेश आन्तरिक मामिला मन्त्रालयले कैलालीको सुख्खडमा आज आयोजना गरेको स्थानीय तहमा कानून निर्माण प्रक्रियासम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिले कानून निर्माण प्रक्रिया जान्न निकै आवश्यक रहेको बताउनुभयो । प्रदेश र सङ्घीय सरकारसँग नबाझिने गरी कानून बनाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य अमरबहादुर साउदले स्थानीय तहमा निर्माण भएका कानून संशोधन गर्न कानून निर्माण प्रक्रियासम्बन्धी गोष्ठीले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

घोडाघोडी नगर प्रमुख ममताप्रसाद चौधरीले एक वर्षका अवधिमा नगरपालिकामा विभिन्न कानून निर्माण भए पनि प्रदेश सरकारसँग बाझिएको हुन सक्ने बताउनुभयो । कार्यक्रममा कानून निर्माण प्रक्रिया, स्थानीय तहमा कानून बनाउनेसम्बन्धी संवैधानिक तथा कानूनी आधार, कानून निर्माण गर्दा अवलम्बन गर्नुपर्ने तथ्य र प्रक्रिया तथा अवधारणाका बारेमा छलफल भएको थियो । कार्यक्रमको सहजीकरण मन्त्रालयका सचिव शङ्कर अर्यालले गर्नुभएको थियो । रासस

प्रतिक्रिया