दशैँ नजिकिएसँगै काठमाडौँका मुख्य बजारमा चहलपहल वृद्धि

admin

काठमाडौँ, २५ असोज : दशैँ नजिकिएसँगै काठमाडौँका मुख्य बजारमा चहलपहल वृद्धि भएको छ । विशेषगरी काठमाडौँको व्यापारिक केन्द्र असनमा दशैँका लागि किनमेल गर्ने मानिसको घुइँचोका कारण यहाँ छिर्नसमेत गाह्रो हुन्छ ।

असनमा दशैँका लागि चाहिने रातो कपडा, अदुवा, उखुको बोट किन्नेको भीड लागेको छ । त्यस्तै धुप, कपासको बत्ती, मकै, चामल, रातो टीका, फूल जस्ता अत्यावश्यक वस्तु फुटपाथमा राखेर बेच्नेको पनि उत्तिकै भीड छ ।

नेवार समुदाय आफ्नो परम्पराअनुसार चाहिने हाँसको अण्डा, सुकेको माछा, किनबेच गर्ने मानिस पनि उत्तिकै देखिन्छ । बालाजुका रमेश महर्जनले कालो भटमास, हाँसको अण्डाजस्ता नेवार समुदायलाई पूजाका लागि नभई नहुने वस्तु किन्नका लागि असनमा नै छिर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

गोरखा घर बताउने गणेश भट्टले आफूहरु पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गरिरहेको र राम्रो आम्दानी भएको बताउनुभयो । “हामीजस्ता फुटपाथे व्यापारीलाई दशैँ अवधिभर व्यापार गर्ने अवसर महानगरपालिकाले दिनुपर्छ”, उहाँको भनाइ थियो । यस्तै भीड तथा मानिसको चहलपहल काठमाडौँको सुन्धारा, मखन, इन्द्रचोक, काठमाडौँ गणेशस्थानजस्ता प्रमुख बजारमा पनि दिनभर भीड देखिन्छ । रासस

प्रतिक्रिया