काभ्रेपलाञ्चोक, २५ असोज : जिल्ला मालपोत कार्यालय काभ्रेपलाञ्चोकले आजदेखि अनलाइन सेवा शुरु गरेको छ ।
आफ्ना सेवाग्राहीलाई अनलाइनमार्फत छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यले आजदेखि अनलाइन सेवा शुरु गरिएको कार्यालयका प्रमुख टङ्क उपाध्यायले बताउनुभयो ।
कार्यालयप्रमुख उपाध्यायले भन्नुभयो, “अब सेवाग्राहीले आफैँ अनलाइन फाराम भरेर जमीनको काम गर्न सक्छन् ।” उहाँले आज कार्यालयबाट २०० वटा फाराम वितरण भएकोमध्ये आधाजसो काम भएको बताउनुभयो ।
भूमिसुधार मन्त्रालयको जिल्लास्थित मालापोत कार्यालयबाट अनलाइन प्रणालीमा लैजाने योजनाअन्तर्गत काभे्रपलाञ्चोकबाट पनि अनलाइन सेवा शुरु भएको हो । कार्यालयमा अनलाइन प्रणाली लागू गरिएपछि काममा सहजता आएको उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सेवाग्राहीले आफैँ फाराम भर्नुहुन्छ, यदि उहाँहरुले नजानेमा हाम्रा कर्मचारीले सिकाउनुहुन्छ ।” यसबाट कीर्ते, जालसाझी हुने सम्भावना नहुने उहाँले दाबी गर्नुभयो । यसअघि मालपोत कार्यालयमा कम्युटर प्रणाली लागू गरेपछि लिखतको काम गर्न सजिलो भएको छ । कागजीरुपमा जग्गाको रेकर्ड राख्दा ढड्डा पल्टाइरहनुपर्ने झन्झटबाट मुक्ति भएको कार्यालयप्रमुख उपाध्यायले बताउनुभयो ।
यसअघि कलङ्की, चाबहिल, डिल्लीबजार, ललितपुर, भक्तपुर, मोरङ, चन्द्रगढी (झापा), वीरगञ्ज, हेटाँैडा, चितवन, धादिङ, कास्की, बागलुङ, बाँके, चितवनको माडी, खैरेनी, चनौली, मकवानपुरको शिखरकोटसहित १९ वटा मालपोत कार्यालयबाट अनलाइन प्रणाली लागू भइसकेको छ । रासस