न्यायिक समितिले मुद्दा किनारा लगाउँदै

रिता घिसिंग

हुम्ला, २९ असोज : हुम्लाका सात वटा गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिकाले उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को तीन महीनायता १३ मध्ये पाँच वटा मुद्दा फछ्र्यौट गरेको छ । न्यायका लागि स्थानीय तहसम्म आइपुग्ने गरेका अधिकांश मुद्दा न्यायिक समतिले नै टुङ्ग्याउने तयारी गरेको न्यायिक समितिका संयोजक एवं खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमालले जानकारी दिनुभयो । जसमा गाली बेइज्जति, चौपाया तथा हराएको सामान पाएको, सम्बन्ध विच्छेद, कुलो, पानी पधेँरो, चौपायाले ढुङ्गा खसाली चौपाया मारेको, साँध, आली धुर, लेनदेनजस्ता मुद्दा परेको गाउँपालिका उपाध्यक्ष हमालले बताउनुभयो । उपाध्यक्ष हमालको संयोजकत्वमा बसेको न्यायिक समितिले पक्ष विपक्षको सहभागितामा छलफल गरी सहमतिमा ल्याएर फछ्र्यौट गरेको बताउनुभयो ।

गाउँपालिकाले काम थालेको आठ महीनामा समितिमा १३ मुद्दा आएको र अधिकांश मुद्दा सहमतिबाट नै किनारा लगाएको बताइएको छ । प्रक्रियामा आएका जटिल तथा कार्यक्षेत्रभन्दा बाहिरका मुद्दा मात्रै माथिल्लो न्यायिक तहमा पठाउने गरेको उहाँ बताउनुहुन्छ ।
हमालका अनुसार न्यायिक प्रक्रियामा नआएका धेरै मुद्दामा दैनिकरुपमा मेलमिलाप तथा न्यायका लागि आफूलाई बोलाउने गरेको बताउनुभयो । ग्रामीण क्षेत्रबाट जिल्लाको न्यायिक निकायसम्म पुग्न गाह्रो हुने र गाउँघरमा हुने गरेका ससाना घटनाको विषयमा जिल्लामा पटकपटक जानुपर्ने बाध्यताबाट खार्पुनाथ गाउँपालिकाका स्थानीयलाई छुटकारा मिलेको छ । धेरैजसो उजुरी अहिले जिल्ला प्रहरी कार्यालय हुम्लामा नभई स्थानीय तहमा रहेको न्यायिक समितिको कार्यालयमा पुग्ने गरेका छन् ।
–रासस

प्रतिक्रिया