मिथिलाञ्चलका देवी शक्तिपीठमा दुर्गा माताको खोइछ भर्दै

admin

महोत्तरी, ३० असोज : मिथिलाञ्चलका विभिन्न देवी भगवतीको शक्तिपीठमा आजदेखि खोइछ भर्ने (एक विशेष प्रकारका पूजा) काम शुरु भइरहेको छ ।

आज यहाँका विभिन्न देवी शक्तिपीठ एवं दुर्गाको प्रतिमा स्थापित भएको मन्दिरमा खोइछ भर्ने कार्य शुरु भएको छ । दशैँको साताँै दिन अर्थात् सप्तमी तिथिका दिन फूलपातीको विधि सम्पन्न भएपछि भाकल पूरा भएका महिलाले विभिन्न प्रकारका शृङ्गारका सामान, फलफूल, नौवैद्य, चुनरीलगायतका पूजा सामग्री राखी खोइच भर्ने गरिन्छ । खोइछ भर्ने कार्यको शुभारम्भ भएपछि मिथिलाञ्चलका देवीको शक्तिपीठमा अहिले भीड लागेको छ ।

“म विगत दुई वर्षदेखि माताको खोइछ भर्ने कार्य गर्दै आएको छु तर यहाँ आएका महिला भने वर्षौंदेखि खोइछ भर्दै आएको गौशाला नगरपालिकाकी अनिता चौधरीले बताउनुभयो । खोइछ भर्नुभन्दा एक दिन अगाडि नुहाएर खाइन्छ भने सप्तमी तिथिको दिन माताको खोइछ नभरुञ्जेलसम्म उपवास बस्नुपर्ने नियम रहेको छ, चौधरीले भन्नुभयो । माताको खोइछ भरिसकेपछि कति व्रतालु महिलाले खाना खान्छन् भने कतिले फलफूल खाएर मात्र बस्ने गरेको अर्के व्रतालु महिला सीता महतोले बताउनुभयो ।

मिथिलाञ्चलमा नवविवाहिता महिलालाई माइतीबाट बिदाइ गर्ने क्रममा आफ्ना्े कूलदेवतालगायत सम्पूर्ण परिवारको आशिर्वाद स्वरुप खोइछ दिइने परम्परा छ । सोहीअनुसार नै माता दुर्गा भवानीलाई पनि आज भाकल पूरा भएका विवाहित महिलाले खोइछभरी माताको आशिर्वाद आफ्नो सम्पूर्ण परिवारमाथि रहिरहोस् भन्ने कामना स्वरुप खोइछ भर्ने परम्परा छ ।

प्रत्येक वर्ष बडादशैँको सप्तमी तिथिका दिन मिथिलाञ्चलका हरेक शक्तिपीठ तथा माता दुर्गाको प्रतिमा स्थापित रहेको दुर्गाको प्रतिमामा आँखाको नानी थपिएपछि खोइछ भर्ने विधि शुरु भएको जानकारवालाले बताउँछन् ।

भाकल एवं मनोकांक्षा पूरा भएपछि श्रद्धालु भक्तजनले माताको खोइछ भर्ने गरिन्छ । यस पटकको खोइछ भर्ने कार्य बडादशैँको सप्तमी तिथिदेखि शुरु भई अष्ठमी तिथिसम्म जारी रहने छ । धनवीर महतो, रासस

प्रतिक्रिया