कङ्कालिनी मन्दिरलाई पर्यटकीयस्थल बनाइने

admin

सप्तरी, ३० असोज । प्रदेश नं २ का उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेशराय यादवले कंकालिनी मन्दिर क्षेत्रलाई पर्यटकीयस्थल बनाइने घोषणा गर्नुभएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कंकालिनी मन्दिरमा फूलपातीका दिन आज पूजा गर्न आउनुभएका मन्त्री यादवले मन्दिरको उत्तरतर्फ रहेको दहलाई सुन्दर तालमा परिणत गरी किनारमा उद्यान निर्माण गरिने र मन्दिर क्षेत्रमा यसै वर्ष बृहत् वृक्षरोपण गरिने पनि बताउनुभयो ।

पूर्वी नेपालको प्रसिद्ध मन्दिर वेदवर्णित कोशी नदीको काखमा अवस्थित दह अति नै आकर्षक र शोभनीय बन्ने सम्भावना रहेकाले यसलाई व्यवस्थित गरिने योजना यादवले सुनाउनुभयो ।

मन्दिर दर्शनका क्रममा मन्त्री यादवसँगै प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह पनि हुनुहुन्थ्यो । मन्दिर दर्शनपछि कोशी टप्पु वन्यजन्तु आरक्षको अवलोकन गर्नुभएका मन्त्री साहले हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरमा आजदेखि शुरु भएको अजय स्मृति कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

छिन्नमस्तामा भक्तजनको घुइँचो

फूलपातीका दिन आज शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा श्रद्धालु भक्तजनको ठूलो घुइँचो लागेको छ ।

घटस्थापनादेखि क्रमशः बढेको दर्शनार्थीको भीड आज अत्यधिक वृद्धि भएको पीठाधीश महाकान्त ठाकुरले बताउनुभयो । मनोकामना पूरा हुने विश्वासका साथ नेपालका अतिरिक्त भारतका दिल्ली, कलकत्ता, पटनालगायत स्थानबाट दर्शनार्थी पूजाका लागि आउने गरेको उहाँले बताउनुभयो ।
छिन्नमस्ता भगवती संरक्षण सम्बद्र्धन समितिका सचिव भोगेन्द्रनारायण झाले आज दुई हजारभन्दा बढी बलि दिइएको बताउनुभयो । उहाँका अनुसार मनोकामना पूरा भएपछि बलि दिन आउनेको समेत वर्षेनी भीड बढेको छ ।

राजविराजवाट १० किलोमिटर दक्षिण तथा भारतीय सीमा नजीकै रहेको मन्दिरमा खसी, बोका, परेवा र हाँसको बलि दिइन्छ । दशैँलाई ध्यानमा राखी मन्दिरमा रङरोगन, सरसफाइ तथा सजावट गरिनाका साथै विभिन्न स्थानमा पिउने पानी, शौचालय र रात बिताउनेका लागि बासस्थानको व्यवस्थासमेत मिलाइएको झाले जानकारी दिनुभयो ।

सखडेश्वरीको मस्तक अर्थात् शिर नभएकाले छिन्नमस्ता भगवतीका नामले प्रख्यात छ । भगवतीकै नामबाट विगतमा गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हाल गाउँपालिकाको नामसमेत राखिएको छ ।

करीब सवा सय वर्षअघि सखडाको भगवती मन्दिर एउटा गुफाका रूपमा थियो । त्यहाँकी च्याखुरी नानी प्याकुरेलले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गर्नुभयो । विसं १९९० को भूकम्पमा मन्दिर भत्किएकाले त्यसबेलाका पुजारी अनिरुद्ध ठाकुरले समाजको सहयोगमा टिनको छाना भएको मन्दिर बनाउनुभयो । त्यसपछि विसं २०२८ मा तत्कालीन भारतीय रेलमन्त्री ललितनारायण मिश्रले पक्की मन्दिरका साथै तीनकोठे धर्मशाला पनि बनाउन लगाउनुभयो ।

यसैगरी २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रले मन्दिर निर्माणकालागि रु पाँच लाख सहयोग गर्दै भगवतीको प्यागोडा शैलीको मन्दिर निर्माण गराएको पीठाधीश ठाकुर बताउनुहुन्छ । प्राचीन इतिहास र किंवदन्तीअनुसार सन् १०९७ मा मुसलमानले आक्रमण गर्दा कर्णाटकका कर्णाटवंशी राजा नान्यदेव भागेर पाटलीपुत्र हुँदै मिथिला आइपुग्नुभयो । उहाँले सिम्रौनगढ (बारा) मा राजधानी कायम गर्नुभयो । उनै नान्यदेव वंशको पाँचौंँ पुस्तामा शक्रसिंहदेव राजा हुनुभएको थियो । दाजुभाइको दवावमा उहाँ नाबालक छोरा हरिसिंह देवलाई राजगद्दीमा राखी निर्वासित जीवन बिताउन सप्तरी आउनुभएको थियो ।

त्यसबेला जङ्गलले ढाकिएको सो स्थानमा जङ्गल सफा गर्दा भेटिएको भगवती मूर्तिलाई उहाँले आफ्नो कुलदेवीका रूपमा स्थापना गरी आफ्नो नामबाट देवीको नाम शक्रेश्वरी राखेको भनाइ छ । सखडेश्वरी सिम्रौनगढका कर्णाटवंशी राजा शक्रसिंहको कुलदेवी रहेको छिन्नमस्ता गाविसका पूर्वअध्यक्ष सत्यनारायण यादवले बताउनुभयो । देवीको शिर नभएकाले केही समयपछि छिन्नमस्ता भगवती भन्न थालिएको हो । रासस

प्रतिक्रिया