सस्तो पाइने भ्रममा भारतीय बजार रोज्दै उपभोक्ता

admin

परासी, १ कात्तिक  :  दशैँ तिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन ।

दशैँका बेला राम्रो व्यापार गरौँला भनेर पसलमा लगानी बढाएका व्यापारीहरु यतिबेला निराश भएका छन् । उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि यहाँका व्यापारीहरु चिन्तित भएका छन् ।

पश्चिम नवलपरासीको महेशपुरसँग जोडिएको भारतीय बजार ठुटिबारीमा अहिले नेपाली उपभोक्ताको घुइँचो नै लागेको छ तर नेपालको महेशपुर बजार भने सुनसान छ । त्यहाँ भारतीय नागरिकभन्दा नेपालीकै भीडभाड छ । भारतीय व्यापारीलाई सामान बिक्री गर्न भ्याई नभ्याई छ । खुल्ला सीमानाका कारण र सस्तो पाइने भ्रममा परेर नेपाली उपभोक्ता भारतीय बजारमा पुगेर दैनिक उपभोग्य सामानदेखि आवश्यक लत्ताकपडालगायत सबै प्रकारका सामान किनमेल गर्ने गरेका छन् ।

नेपाली उपभोक्ता सस्तो पाइने आशमा भारतीय बजार पुगेर गुणस्तरहीन, तौलमा कमी र मूल्यमा समेत ठगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष रामजी ज्ञवालीले बताउनुभयो । कतिपय नेपाली सामान भारतमा पुगेर भारतीय मूल्यमा किनेर ल्याउँदासमेत उपभोक्ताले आफू ठगिएको पत्तै नपाउने गरेको बताउनुभयो ।

भारतबाट नेपाल भित्रिने फलफूल तथा तरकारी सस्तो पाइने भएपछि नेपाली उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्नसमेत समस्या परेको छ । बर्दघाट बजारमा कपडा पसल गर्दै आइरहेका आशिष न्यौपाने दशैँको समयमा पनि अन्य समयमा भन्दा कम व्यापार भएपछि चिन्तित देखिनुहुन्छ । न्यौपानेले दशैँलाई लक्षित गरी नियमितभन्दा रु तीनदेखि रु चार लाखको सामान पसलमा थप गर्नुभयो तर व्यापार प्रायः शून्य भएपछि साहुलाई कसरी तिर्ने भन्ने चिन्तामा उहाँलाई परेको छ । नेपाली उपभोक्ताहरु कपडा खरिदका लागि भारतीय बजार जान थालेपछि स्थानीय बजारमा उपभोक्ताको सङ्ख्या घटेको र व्यापार पनि नभएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घका जिल्ला अध्यक्ष मेघराज गौतमले बताउनुभयो ।

न्यौपाने मात्र होइन बर्दघाटमा किराना पसल सञ्चालन गर्दै आइरहेका अर्का व्यापारी लक्ष्मण भण्डारीको पनि पीडा उस्तै छ । अहिले उपभोक्ताहरु चिनी, चियापत्ती, मरमसला खरिद गर्न पनि भारतीय बजारमा जान थालेपछि आफूहरुको व्यापारमा कमी आएको उहाँ बताउनुहुन्छ ।

सामान किन्न भारतीय बजार पुगेका सुनवलका टङ्कनाथ आचार्यले चाडबाडको समयमा घरमा धेरै सामान चाहिने भएको र ठुठीबारी बजारमा नेपाली बजारमा भन्दा सस्तो पाइने भएकाले आफू ठुठीबारी आएको बताउनुभयो । आचार्यले सामानको गुणस्तरका बारेमा आफूलाई थाहा नभएको तर सस्तो र लैजान कुनै रोकतोक नहुँदा आफू सधैँ भारतीय बजार आउने गरेको बताउनुभयो । भारतको ठुठीबारी बजारमा नारायणगढदेखि नवलपुरसम्मका उपभोक्तासमेत किनमेलका लागि जाने गर्छन् । मोहन पौडेल, रासस

प्रतिक्रिया