बेत्रावती, ३ कात्तिक : नुवाकोट विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले एक अशक्त व्यक्तिलाई मासिक रु दुई हजारका दरले रु ३० हजार उपलब्ध गराएको छ ।
आफू प्रमुख पदमा निर्वाचित भएर शपथ लिएपछि राज्यबाट जनप्रतिनिधिको हैसियतमा प्राप्त सुविधाबाट उहाँले विदुर नगरपालिका–९ लामाटारका न्यून दृष्टियुक्त व्यक्ति (दुवै आँखा नदेख्ने) कृष्णबहादुर नेपालीलाई उक्त रकम उपलब्ध गराउनुभएको हो ।
“यो सेवा आफू जनप्रतिनिधि रहुञ्जेल राज्यबाट प्राप्त हुने सुविधाबाट कटौती गरी प्रदान गर्ने भनेर जनाएको प्रतिबद्धता कार्यान्वयनमा ल्याएको छु”, प्रमुख पण्डितले भन्नुभयो, “अब निरन्तर मासिकरुपमा रकम उपलब्ध गराउनेछु ।”
जग्गा तथा सम्पत्ति केही नभएको नेपालीले वृद्ध बुवा र शारीरिकरुपमा अशक्त श्रीमतीको पालनपोषण गर्दै आउनुभएको छ ।
“सामाजिक सुरक्षा भत्ताबाट आउने पैसाले परिवार पाल्न गाह्रो थियो”, नेपालीले भन्नुभयो, “प्रमुखले दिनुभएको पैसाले चामल किन्न पुग्ने भएको छ ।” रासस