पर्यटकीय स्थलको सडक मर्मत गर्न माग

admin

काठमाडौँ, ६ कात्तिक : पर्यटकीय स्थल सुन्दरीजलको महाँकाल हुँदै चिलाउने, ओख्रेनी तथा नुवाकोटको तलाखु, चिसापानी र सिन्धुपाल्चोकको हैबुङ, पाटीभञ्ज्याङसम्म जोड्ने सडक मर्मत गर्न स्थानीयवासीले माग छन् ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको भीर खनेर बनाइएको मोटर बाटो साँघुरो हुँदा जोखिमको सम्भावना बढेको छ । जोखिम मोलेर खचाखच यात्रु बोकेका सवारी साधन ओहोर दोहोर गर्छन् । पर्यटकीय मार्गको मर्मत सम्भारका लागि सम्वन्धित निकायको ध्यान जानुपर्ने स्थानीय सुशील सिम्खडाले बताउनुभयो । जोखिम न्यूनीकरण गर्न सके पर्यटकका लागि मात्र नभई काठमाडौंवाट नुवाकोट र सिन्धुपाल्चोक जान सहज हुनेछ ।

काठमाडौँलाई मध्यपहाडी लोकमार्गसँग जोड्ने सुन्दरीजल–मुलखर्क–चिलाउने २२ किमी तथा सुन्दरीजल–मूलखर्क–चिसापानी सात किमी मोटर बाटो जतिसक्दो छिटो निर्माण, मर्मत र सुधार गर्न सकिएमा ग्रामिण भेगलाई शहरसँग जोड्ने छोटो मार्गका रुपमा विकास हुनेछ । चालु आर्थिक वर्षको बजेटको रातो किताबमा यो सडक मर्मत सम्भारको योजना परेपनि काम शुरु हुन नसकेको स्थानीयवासीको गुनासो छ । चालु आर्थिक वर्षको तीन महीना पूरा हुँदा समेत काम गर्ने सुरसार छैन । आर्थिक वर्षको अन्त्यमा काम शुरु गर्दा गुणस्तरीय काम हुँदैन ।
-रासस

प्रतिक्रिया