एक्यापमा स्वदेशीलाई पनि शुल्क

admin

बेंसीशहर, ६ कात्तिक : अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को भ्रमणका लागि आउने नेपाली पर्यटकले पनि प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । यसअघि विदेशी पर्यटकले मात्र प्रवेश शुल्क तिर्दै आएकामा असोज अन्तिमदेखि लागू हुने गरी नेपाली पर्यटकले पनि शुल्क तिर्नुपर्ने भएको हो । नेपालीलाई प्रवेश शुल्कबापत रु १०० शुल्क तोकिएको छ ।

सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रसँगै मनास्लु संरक्षण क्षेत्र र गौरीशङ्कर संरक्षण क्षेत्रमा घुम्न जाने नेपाली पर्यटकको प्रवेश शुल्क तोकेको हो । विदेशी पर्यटकलाई लिँदै आएको प्रवेश शुल्कमा समेत वृद्धि भएको छ । सरकारले सार्क मुलुकका नागरिकलाई रु २०० बाट बढाएर रु एक हजार शुल्क तिर्नुपर्ने बनाएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)बाहेक विदेशी पर्यटकलाई यसअघि करसहित रु दुई हजार २६० तिर्दै आएकामा अब रु तीन हजार बुझाउनुपर्ने बनाएको छ ।

वृद्धि भएको प्रवेश शुल्क लिन थालिएको एक्याप केन्द्रीय कार्यालय पोखरा र पर्यटक जाँच तथा प्रवेश शुल्क काउन्टर बेंशीशहरले जनाएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) अन्तर्गत रहेको संरक्षण क्षेत्रहरु एक्याप, मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) र गौरीशङ्कर संरक्षण क्षेत्र आयोजना (जिक्याप) भित्र प्रवेश गर्ने नेपाली पर्यटकले जनही रु एक सय प्रवेश शुल्कबापत बुझाउनुपर्छ ।

लमजुङबाट मनाङ हुँदै मुस्ताङ भएर म्याग्दी तथा कास्कीको पोखरा गएर टुङ्गिने अन्नपूर्ण संरक्षण क्षेत्रभित्रका पर्यटक जाँच तथा शुल्क काउन्टरमा नेपालीले शुल्क बुझाएर अनुमतिपत्र लिनुपर्ने एक्यापले जनाएको छ । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकले काठमाडौँको भृकुटीमण्डप, पोखरामा ड्यामसाइड र लमजुङको बेंशीशहरमा रहेको पर्यटक प्रवेश शुल्क काउन्टरबाट प्रवेश अनुमतिपत्र लिने गरेका छन् ।

विदेशी पर्यटकका लागि निर्धारण गरिएको नयाँ शुल्क असोज २९ गतेदेखि लागू हुनेगरी लिन थालिएको एक्याप मनाङका लेखापाल कैलाश तिवारीले बताउनुभयो । नेपाली र स्थानीयवासीका लागि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । एक्यापले सन् १९९६ देखि अन्नपूर्ण पदमार्गमा आउने पर्यटकको तथ्याङ्क लिएर प्रवेश शुल्क लिन थालेको जनाएको छ । अन्नपूर्ण संरक्षणभित्र लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जिल्लाका भूभाग पर्छन् ।
-रासस

प्रतिक्रिया