हात्ती पीडितद्वारा क्षतिपूर्तिको माग

admin

भीमदत्तनगर, ७ कात्तिक : घर भित्र्याउने बेला धानबाली जङ्गली हात्तीले सखाफ बनाएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान क्षतिपूर्ति माग गर्दै स्थानीय तहदेखि प्रहरी कार्यालयसम्म धाउन थालेका छन् ।

गत भदौदेखि यहाँको शुक्लाफाँटा नगरपालिकाका विभिन्न वडाका हात्ती पीडित किसानले इलाका प्रहरी कार्यालय झलारीमा मात्रै क्षतिपूर्तिका लागि करीब ३०० ले निवेदन दिएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले हात्ती पीडित किसान क्षतिपूर्तिका लागि दैनिक आउने गरेको बताउनुभयो । “हामीले स्थलगत निरीक्षण र कागजी प्रक्रिया पु¥याएर क्षतिपूर्तिका लागि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा फाइल पठाउने गरेका छौँ ।” उहाँले भन्नुभयो, “यहाँका विभिन्न वडामा किसान र स्थानीयवासी हात्तीबाट पीडित बनेका छन् ।”

उहाँले दुई महीनाको अवधिमा शुक्लाफाँटा नगरपालिकामा एक दर्जन सामुदायिक र निजी घर÷टहरा भत्काएको समेत जानकारी दिनुभयो । हात्ती धपाउन स्थानीय तहले विभिन्न वडामा पटाका समेत उपलब्ध गराएको छ ।

शुक्लाफाँटा नगरपालिका १, २, ३, ४, ७, ८, ११, १२ लगायतका वडामा हात्तीले बढी क्षति पु¥याएको छ । त्यसैगरी शुक्लाफाँटा नगरपालिका कार्यालयमा पनि ५६ किसानले क्षतिपूर्तिका लागि निवेदन दिएको नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिनुभयो ।

“हामीले गत वर्ष पनि किसानलाई राहतस्वरुप केही रकम वितरण गरेका थियौँ ।” नगरप्रमुख ऐरले भन्नुभयो, “गत वर्ष राहतमा मात्रै रु साढे पाँच लाख नगरपालिकाले वितरण गरेको थियो ।” गहुँ, उखु, र घर भत्किाएका करीब ३०० भन्दा बढी परिवारलाई गत आव २०७४÷०७५ मा कार्यपालिकाबाट निर्णय गरेर रु दुई हजारका दरले वितरण गरिएको नगरप्रमुख ऐरले बताउनुभयो ।

हात्ती गाउँ पस्न नदिन दिगो व्यवस्थापनका लागि विद्युतीय तारजाली लगाउने विषयमा पनि रु २५ लाख नगरपालिकाले बजेट विनियोजन गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले क्षतिको अवस्था हेरेर राहत दिँदै आएको छ । रासस

प्रतिक्रिया