सञ्चारमन्त्री मोबाइल कङ्ग्रेसमा

admin

काठमाडौँ, ७ कात्तिक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा भारतीय मोबाइल कङ्ग्रेस २०१८ मा सहभागिता जनाउन आज भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय सञ्चार मन्त्रालयको निमन्त्रणमा यही कात्तिक ८ देखि १० गतेसम्म हुने उक्त सम्मेलनमा पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री बाँस्कोटा आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

भारतीय सञ्चार मन्त्रालय र सेलुलर अपरेटर्स एशोसियशन अफ इण्डिया) को संयुक्त आयोजनामा हुनेसम्मेलनमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) र दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आशियान) का मन्त्री तथा उच्चस्तरीय सरकारी पदाधिकारीको प्रतिनिधित्व रहनेछ ।

सम्मेलनमा सूचना तथा सञ्चार क्षेत्रमा विकसित हुँदै आएका नवीनतम् प्रविधि तथा भूमण्डलीकरणका कारणबाट यस क्षेत्रमा परेको प्रभावका बारेमा छलफल तथा विचारको आदानप्रदान हुने तथा क्षेत्रीय विकासमा सञ्जालको भूमिका र यसले पार्ने प्रभावका विषयमा मन्त्री बाँस्कोटाले सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिनुभयो ।
-रासस

प्रतिक्रिया