प्रचण्डको अभिव्यक्ति धम्की हो, हामी मुकाविला गर्न तयार छौं : लाल [भिडियो सहित]

admin

काठमाडौं, ८ कात्तिक । राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन् ।

उनले भने,‘प्रचण्डको भनाईलाई हामीले गम्भिर रुपमा लिएका छौं । यो प्रचण्डको हामीलाई धम्की हो । उहाँले सल्लाह वा सुझाव दिनुभएको होईन् ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले प्रचण्डले जनकपुरमा २ नम्बर प्रदेशलाई ठाडै चेतावनीको स्वरमा धम्की दिएको बताए । उनले भने,‘संघीय सरकारले संविधानबमोजिम काम गर्छ कि गर्दैन, यदि संघीय संरचना तोड्न खोज्यो भने हामी मुकाविला गर्न तयार छौं । मधेशी जनता मुकाविला गर्न तयार छन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रचण्डले आफूहरुलाई धम्की दिनुको अलवा आफ्नो रणनीतिस्वरुप उक्त अभिव्यक्ति दिएको पनि आरोप लगाए ।

उनले भने,‘प्रचण्डजीले आफू सत्तामा जाने दाउमा संघ र प्रदेशबीच द्वन्द्व चर्काउने रणनीति लिनुभएको छ । यो सरकार बदनाम होस् भन्ने उनको चाल छ । अनि मेरो पालो आउँछ भन्ने प्रचण्डले सोचेका छन् ।’

उनले मुलुकमा अराजकताको स्थिति आयो भने यसको सम्पूर्ण जिम्मेवारी संघीय सरकारको हुने समेत बताए। प्रचण्डले जनकपुरको त्यही सभामा आफू मधेशी जनताको मागप्रति गम्भिर रहेको तर वर्तमान सरकारको नेतृत्व गरेर बस्नेहरु नभएको भन्ने अभिव्यक्ति दिएको पनि उनले सुनाए । उनले भने,‘द्वन्द्व चर्काउने प्रचण्डको रणनीति हो । त्यही अनुसार उनले जनकपुरमा ओभरटेक नगर्न भनेर धम्की दिएका हुन् ।’

लालले यथाशक्य चाँडो अन्तर प्रदेश परिषदको बैठक डाक्न समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनले भने,‘अहिलेसम्म अन्तर प्रदेश परिषदको बैठक भएको छैन । प्रधानमन्त्रीजी यसमा चुक्नुभयो । अब विलम्ब नगरी बोलाउनुपर्छ ।’

उनले संघीय सरकारले मुलुकमा अराजकताको स्थिति सिर्जना गर्न खोजेको पनि आरोप लगाए । उनले भने,‘संघीय सरकार शासन गर्न चाहन्छ । सबै संविधानबमोजिम चल्नुपर्छ । २ नम्बर प्रदेश संविधानबमोजिम नै चलेको छ ।’

२ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा त्यस्तो विरोध गर्नुपर्ने के कुरा छ भन्दै उनले प्रश्न समेत तेर्साए । उनले भने,‘२ नम्बर प्रदेशले पारित गरेको प्रहरी ऐनमा के छ ? संविधान विरोधी के कुरा छ ?’ उनले अहिलेपनि संघीय प्रहरी ऐन दराजभित्र बन्द गरेर राखिएको भन्दै आपत्ति जनाए । उनले भने,‘सबैले संविधानबमोजिम अभ्यास गर्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू