इथियोपियामा पहिलो महिला राष्ट्रपति

admin

अडिस अबाबा, ८ कात्तिक: इथियोपियामा पहिलो पटक महिला राष्ट्रपति चयन हुनु भएको छ । दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको जनाइएको छ । निवर्तमान राष्ट्रपति मुलाटु टेसोमले राजिनामा दिएपछि जेवडे नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित हुने मौका पाउनु भएको हो । दक्षिण अफ्रिकी मुलुक इथियोपियाको दुवै सदनका सदस्यहरूका अगाडी नयाँ राष्ट्रपति ज्वदेले बिहीबार नै सपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले सवै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताउनुभयो । उहाँले यसअघि अफ्रिकी युनियनमा इथियोपियाको स्थायी प्रतिनिधिका रूपमा काम गर्दा अन्तर्राष्ट्रिय क्षेत्रमा इथियोपियाको तर्फबाट राम्रो भूमिका खेल्नु भएको भन्दै प्रशंसा हुने गरेको थियो ।  अन्य अन्तर्राष्ट्रिय संस्थाहरूमा पनि विभिन्न जिम्मेवारी निर्वाह गर्नुभएका उहाँलाई इथियोपियामा सम्मानित र प्रतिष्ठित कुटनीतिज्ञका रुपमा चिनिन्छ । उहाँ विभिन्न देशमा इथियोपियाको तर्फबाट राजदूत समेत हुनुभएको थियो ।

इथियोपियाको दुवै सदनले निर्वतमान राष्ट्रपति टेसोमको राजिनामा स्वीकृत गरेपछि मात्रै ६८ बर्षीय ज्वदेलेलाई निर्वाचित गरेको थियो । सन् २०१३ को अक्टोबर तारिखका दिन राष्ट्रपतिमा निर्वाचित हुनुभएका ६३ बर्षीय टेसोम त्यसअघि टर्कीका लागि इथियोपियाका राजदूत हुनुहुन्थ्यो । उहाँले सरकारी उच्च अधिकारीका रूपमा र विभिन्न मन्त्रालयको मन्त्रीका रुपमा पनि जिम्मेवारी सम्हाली सक्नुभएको थियो ।
-रासस÷सिन्ह्वा

प्रतिक्रिया