७ बर्षको उमेरमा परिवारले जबर्जस्ति बिहे गराइदिएको यी बृद्ध आमाको यसपालिको दशैं वृद्धाश्रममा [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर।गौशाला, काठमाडौँको पशुपति मन्दिरमा स्थित पशुपति वृद्धाश्रम गरिब, अशक्त, असहाय र साहराविहीनका लागि बुढेसकालको साहरा हो। बुढेसकालमा हेरचाह गर्ने कोही नभएका, परिवारवाट उपेक्षित जेष्ठ नागरिकहरूको संगमथलोको रुपमा पशुपति वृद्धाश्रमलाई लिने गरिन्छ। त्यहाँ थुप्रै वृद्धवृद्धाहरुले आश्रय लिएर बसेका छन्। ती मध्य एक हुन् सान्नानी।

सान्नानी नाम गरेकी एक बृद्ध आमा लामो समय देखि पशुपति परिसरकै वृद्धाश्रममा बस्दै आएकी छिन्। ७ वर्षको उमेरमा उनलाई उनकै दाजुले झुक्काएर क्यान्सर पिडित साथै बोल्न समेत नसक्ने युवक सँग विवाह गर्दिएका थिए। बिहे गरेर उनी आफ्नो श्रीमानको घर गइनन। उनी माइतमा नै बासिन्। ‘मेरो बेलामा बिहे भएपछि पनि भाइ बैनालाई हेर्न भनेर ५-७ वर्ष माइत मै राख्थे। त्यसैले म नि माइत नै बसेकी हु। ‘ उनले सुनाइन्।

श्रीमान रोगि भएकाले उनको मृत्यु चाडै भयो। मृत्यु पश्चात उनलाई जुठो बार्न घरमा बोलाइयो। उनी गईन् जुठो बारिन् अनि फेरी माइतीमा नै आएर बसिन्। सकुन्जेल मेला पात गरेर खाईन्। अलि उमेर ढल्केपछि उनी माइत छोडेर दिदि नाता पर्नेकोमा गएर काम गरेर जिविको पार्जन गर्न थालिन्। बुढो शरीर काम गर्न नसक्ने भए पछि उनको अन्तिम विकल्प बन्यो पशुपति वृद्धाश्रम।

अहिले उनी पशुपति वृद्धाश्रममा नै रमाईरहेकी छिन्। बिहानै उठ्छिन् न्यानो घाम ताप्दै दिनचर्याको शुरुवात गर्छिन्। दिनभरी बस्छिन् सकेको काम गर्छिन् दिएको खान्छिन्। सन्तोषी स्वभाव कि यी आमा अहिले आफ्नै संसारमा रमाएकी छिन्। अरुबेला घरपरिवारको याद खासै नआए पनि चाडबाडमा भने उनलाई अलि खल्लो लाग्छ भन्दै उनले यो पालिको दशैँ स्मरण गरिन्।

‘केहि समय अघि सम्म छोरी ज्वाई दशैँको टिका लगाउन आउथे। यो पाला आएनन्। यस्तै रहेछ। सम्पत्तिमा सबै हाई हाई विपत्तिमा कोहि छैनन् दाजु भाई। ‘ विगतको दशैँ टिकाको सम्झना स्वरुप उनले आफन्तलाई सम्झिदै भनिन्। तर उनलाई टिका ग्रहण गर्न नआएकोमा पनि कुनै विस्मात छैन। उनलाई लाग्छ सम्पत्ति हुँदा मात्र सबै आफ्ना हुन्छन्। उनको केहि छैन अनि कोहि छैन भनेर चित्त बुझाउदै उनले यो पालिको दशैँ पनि वृद्धाश्रममा मनाइन।

बाँकि आमासँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू