पोखरा पल्टनको विजयी शुरुआत

admin

कास्की, ९ कात्तिक: पर्यटकीय शहर पोखरामा आजदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी शुरुआत गरेको छ । सर्वाधिक पुरस्कार राशि भएको प्रतियोगिताको उद्घाटन खेलमा पोखरा पल्टन विराटनगर टाईटन्स माथि ५८ रनले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा विराटनगरमाथि तीन विकेटको क्षतिमा १९७ को चुनौती पेस ग¥यो ।

पोखराका लागि उसका सबै ब्याट्सम्यानले आक्रामक ब्याटिङ गर्दै फराकिलो रनको लक्ष्य दिएका थिए । खेलमा १९८ रनको लक्ष्य पाएको विराटनगरले आठ विकेटको क्षतिमा १३९ रनमा चित्त बुझायो । पोखरा पल्टनका लागि ओपनरको रुपमा मैदानमा आएका कुशल भुर्तेलले ३८ र आसिफ सेखले ५२ रनको योगदान दिनुभएको थियो । विराटनगरले खेलमा शुरुआती अवस्थामै विकेट गुमाएको थियो । विराटनगरका सुनिल धमला १५ रन बनाए ।

क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा पोखरा रङ्गशालामा कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजयी टिमले रु २७ लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विभिन्न छ टोलीको सहभागी छन् । प्रतियोगिताको सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महराले ब्याटिङ र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले बलिङ गरेर उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया