बाँकेमा दुई हजार हेक्टर वन अतिक्रमण

पूजा बानियाँ

बाँके, १० कात्तिक :  बाँकेमा विभिन्न बहानामा वन अतिक्रमण गर्ने क्रम बढीरहेको छ । बाढीपीडित, सुकुम्वासी र भूमिहिनको नाममा वन अतिक्रमण भइरहेको डिभिजन वन कार्यालय बाकेले जनाएको छ ।


बाढीपीडित र सुकुम्वासीको नाममा वन अतिक्रमण भएको देखिए पनि जमीन हुनेलेसमेत वन अतिक्रमण गरेर भोगचलन गर्दै आएका छन् । वन कार्यालयकाअनुसार एक हजार ९६८ हेक्टर वन अतिक्रमण भएको छ ।

डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेशबहादुर खड्काले सबैभन्दा धेरै राप्तीसोनारी गाउँपालिकाको वन क्षेत्र अतिक्रमण भएको बताउनुभयो । राप्तीसोनारी गाउँपालिकामा एक हजार ६४६ दशमलव ६९ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
वन कार्यालयका अनुसार कोहलपुर इलाका वन कार्यालयको क्षेत्राधिकारभित्र २७१ हेक्टर र बैजापुर क्षेत्रमा ३९५ दशमलव ४८ हेक्टर वन अतिक्रमण भएको छ ।

त्यस्तै झोरा इलाका वन कार्यालय अन्तर्गतका सामुदायिक वन पनि अतिक्रमण भएका छन् । त्यस क्षेत्रमा २६ दशमलव ३ हेक्टर वन अतिक्रमण भएको छ । बाढीपीडितको नाममा वन अतिक्रमण गर्ने क्रम बढेको छ । राप्तीसोनारी गाउँपालिका–२ टिकुलीपुरमा ६०० हेक्टर वन अतिक्रमण भएको छ ।

सोही क्षेत्रमा रहेको हरिहरपुरमा ३०० हेक्टर र शम्शेरगञ्जको अम्रहवामा १०० तथा शम्शेरगञ्जकै महेन्द्रपुरमा ६६ दशमलव ६७ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

वन अतिक्रमण गरेर तीन हजार ९७२ परिवारले बसोवास र भोगचलन गर्दै आएका छन् । वन अतिक्रमण गरेर बसेका धेरैजसोको लालपूर्जा भएको जमीन र घर भएको वन कार्यालयको अनुसन्धानले देखाएको छ । ‘लालपूर्जा भएको जमीन भएका समेत वन अतिक्रमण गरेर स्थायी संरचना बनाएको फेला परेको छ,’ सहायक वन अधिकृत खड्काले भन्नुभयो ।

राप्ती नदीमा आएको बाढीले घरवाससमेत बगाएको भन्दै झोरा र हजरत सामुदायिक वन अतिक्रमण गरेर ३२२ परिवार बसेका छन् । अतिक्रमणकारीले वन क्षेत्रमा पक्की संरचना निर्माण गरिसकेका छन् ।

पछिल्लो समय राप्तीसोनारी गाउँपालिका–६ र ७ मा रहेका सामुदायिक वन अतिक्रमण हुने क्रम बढेको छ । उक्त वन क्षेत्रमा बाढीपीडितको नाममा अतिक्रमण भइरहेको वन कार्यालयले जनाएको छ । फत्तेपुरका राप्ती नदी पीडितले ११० हेक्टर वन अतिक्रमण भएको छ । रासस

प्रतिक्रिया