पर्यटकीय संस्था एकजुट हुँदै

admin

काठमाडौँ, १० कात्तिक: पर्यटन क्षेत्रमा देखापरेका समस्याको समाधान तथा अवसरको उपयोगका लागि पर्यटनुँग आवद्ध सङ्घसंस्था एकीकृत ढङ्गले अघि बढ्ने भएका छन् । पदयात्रा व्यवसायको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को नेतृत्वमा पर्यटनका विभिन्न विधा अन्तर्गतका संस्था सामूहिक मुद्दामा एकजुट भएर अघि बढ्ने भएका हुन् ।

पदयात्रा तथा पर्वतारोहणलगायत क्षेत्रमा विभिन्न विकृति बढेको, पर्यटकीय क्षेत्रमा सम्बन्धित गाउँपालिकाले मनोमानी ढङ्गले कर असुली गर्ने तथा संरक्षण क्षेत्रमा स्वदेशी पर्यटकलाई समेत शुल्क लगाइएको विषयमा गम्भीरता जनाउँदै व्यावसायिक संस्था एकै थलोमा आइपुगेका छन् । यसै सन्दर्भमा टानले पर्यटकीय संस्थाको दुईदिने बैठक गर्दै विभिन्न विधाका पर्यटकीय संस्था तथा विभिन्न राजनीतिक दलसँग आबद्ध पर्यटनका भ्रातृ सङ्गठनसँग संयुक्त छलफल गरी समस्या समाधान तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्यलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेका हुन् ।

बैठकमा टान, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा), नेपाल पर्वतारोहण सङ्घ, प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर, होटल एशोसिएसन अफ नेपाल (हान)लगायत ४० भन्दा बढी संस्थाका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता थियो । बैठकको संयोजना गरेको टानका अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा दिन प्रतिदिन बढेका समस्या, शुल्क वृद्धि, अवैध व्यवसाय सञ्चालन आदि विषयमा साझा अवधारणाका साथ अघि बढ्ने उद्देश्यले बैठक आयोजना गरिएको बताउनुभयो ।

पर्यटनका मुद्धामा सामूहिक छलफल गरी एकताबद्ध भएर अघि बढ्न महासचिवस्तरको समिति बनाउने बैठकले निर्णय गरेको र सोको समन्वय टान अध्यक्षले गर्ने जनाइएको छ । बैठकले सबै संस्थाको प्रतिनिधित्व हुनेगरी प्रस्तावना तयारी गरी एक साताभित्र पर्यटन मन्त्रालय तथा अन्य सम्बन्धित मन्त्रालयलाई उक्त प्रस्तावना बुझाइनेछ । “प्रस्तावना पहिला पर्यटनमन्त्रीलाई बुझाउँछौँ, पर्यटन मन्त्रालयबाहेकका अन्य मन्त्रालयमा पर्यटन मन्त्रीकै अगुवाइमा पहलकदमी गर्छौँ” अध्यक्ष दाहालले भन्नुभयो ।

पर्यटन क्षेत्रमा गैरकानूनी ढङ्गले व्यवसाय सञ्चालन भइरहेको र अहिले पनि ७० प्रतिशत भन्दा बढी पदयात्री पर्यटक अवैध ढङ्गले पदयात्रामा जाने गरेको दाबी गर्दै उहाँले पेशाको बद्नाम तथा राज्यलाई कर छली बढेकाले उल्लेखित विषयमा समेत साझा समाधान खोज्ने गरी सङ्गठित ढङ्गले अघि बढ्ने उल्लेख गर्नुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन संयुक्त अभियान सञ्चालन लगायतका कार्यक्रमको अवधारणा पनि प्रस्तावनामा अट्ने टानले जनाएको छ ।
-रासस

प्रतिक्रिया