खेलकूदको विकासमा प्रदेश सरकार कटिबद्ध : मन्त्री बोहरा

admin

कञ्चनपुर, १० कात्तिक: सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले सुदूरपश्चिम प्रदेशमा खेलको विकासका लागि पूर्वाधार विकासमा सरकारले विशेष जोड दिने बताउनुभएको छ । आज कञ्चनपुरको बेदकोट नगरपालिकामा आयोजित प्रथम जिल्लास्तरीय बेदकोट कप फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै उहाँले खेलका माध्यमबाट राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादनका लागि नीति निर्माण गरी भौतिक संरचना निर्माणमा प्रदेश सरकारले लगानी गर्नेछ भन्नुभयो ।

खेल जगतसँगै सुदूरपश्चिम प्रदेशको समग्र भौतिक पूर्वाधारको विकासको सवालमा समेत प्रदेश सरकार गम्भीर रहेको मन्त्री बोहराको भनाइ थियो । प्रदेशसभा सदस्य लालबहादुर खड्काले खेलकूदले स्वस्थ्य समाज निर्माण गर्ने भएकाले यसको विकासका लागि प्रदेश सरकारले स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले बेदकोट नगरपालिकाले खेलकूद क्षेत्रमा विशेष विकास बजेट विनियोजन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले नगरपालिकाको बजेटले मात्र खेललगायत अन्य क्षेत्रको विकास हुन नसक्ने भएकाले प्रदेश सरकारको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
-रासस

प्रतिक्रिया