गोरखा, १२ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले भर्खरै पुनः निर्माण सम्पन्न भएको गोरखाको मनकामना मन्दिरको पुनः निर्माणबाट राज्यले सिक्नुपर्ने बताउनुभएको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएकोे मनकामना मन्दिर पुरानै संरचनाअनुसार पुनःनिर्माण सम्पन भएपछि आज अवलोकन गर्न पुग्नुभएका मन्त्री अधिकारीले मन्दिर निर्माणका लागि नेपाल सरकारले चार करोड रुपैयाँ मात्र उपलब्ध गराएको भए पनि बाँकी रु नौ करोडभन्दा बढी रकम जनसहभागिताबाट सङ्कलन हुनु नमूनायोग्य कार्य भएको बताउनुभयो ।
उहाँले पुनःनिर्माण सम्पन्न गर्न बाँकी ऐतिहासिक तथा धार्मिक सम्पदाको पनि यही ढाँचाबाट निर्माण अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “मनकामना मन्दिर पिपिपी मोडल अर्थात् निजी तथा सार्वजनिक संस्थाको सहकार्यमा निर्माण गरिएकाले समयमा नै निर्माण सम्पन्न भएको हो,” मन्त्री अधिकारीले भन्नुभयो, “यसबाट राज्यले पुनःनिर्माणका लागि पाठ सिक्नु जरुरी छ ।” उहाँले मन्दिरको थप विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गोरखाको शहीद लखन गाउँपालिका–२ स्थित मनकामना मन्दिरबारे छलफलमा मन्दिर व्यवस्थापन समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले मन्दिरको निर्माणको काम सम्पन्न भइसकेको र मन्दिरको पेटीहरुमा ढुङ्गा छाप्ने काम भइरहेको जानकारी दिनुभयो । मनकामना मन्दिर २०७२ साल असारमा क्षमापूजा गरी भत्काएर पुनःनिर्माण शुरु गरिएको थियो । मन्दिर निर्माणका लागि १८ किलो सुन खर्च भएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
-रासस