सेवा शुल्क परिमार्जन गर्न माग

admin

काठमाडौँ, १३ कात्तिक: नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले कामदारको आधा महीनाको तलब बराबरको सेवा शुल्क पाउने प्रावधान परिमार्जन नगरिए मलेसिया कामदार पठाउन नसकिने जनाएको छ । यहाँ आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष रोहन गुरुङले आधा महीनाको तलब बराबरको सेवासुविधाले कर्मचारी र कार्यालय व्यवस्थापन तथा बजार प्रवद्र्धन गर्न नसकिने बताउनुभयो । उहाँले नेपाली श्रमिकलाई सम्पूर्ण खर्च व्यहोरेर लैजानुपर्ने अवस्थामा दरबन्दी प्रणाली लागू नगरिए मलेसियाको रोजगारी गुम्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सस्तो कामदारको खोजीमा मलेसियाका रोजगारदाताले अन्य मुलुकबाट कामदार लैजान सक्ने उहाँको जिकिर थियो । नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी स्वागतयोग्य भए पनि वैदेशिक रोजगारदाता संस्थाले पाउने सेवा शुल्क प्राप्त हुने सुनिश्चितता नभएको उहाँले बताउनुभयो ।

सङ्घका पूर्वअध्यक्ष विमल ढकालले वैदेशिक रोजगारदाता संस्था पाउने सेवा शुल्क वैज्ञानिक ढङ्गबाट तोकिनुपर्नेमा जोड दिनुभयो । निश्चित सेवा शुल्कको सुनिश्चितता भए निःशुल्क रुपमा कामदार पठाउन व्यवसायी तयार रहेको उहाँको भनाइ थियो । प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपालका अध्यक्ष चित्रगुप्त साँवा लिम्बूले सरकारले मलेसियासँगको श्रम समझदारी गर्दा व्यवसायीसँग छलफल नगरेको गुनासो गर्नुभयो ।
-रासस

प्रतिक्रिया