लमही, १३ कात्तिक: दाङको देउखुरीमा फेला परेको शवको १९ दिनपछि पहिचान खुलेको छ । गत असोज २७ गते भालुवाङस्थित राप्ती नदीको तटबन्धमा झुण्डिएको अवस्थामा भेटिएको शवको पहिचान भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार प्यूठान झिमरुक गाउँपालिका–२ बादीकोट घर भई नवलपरासी, बर्दघाट नगरपालिका–१ पुनर्बासमा बस्दै आएका ४० वर्षीय शिवबहादुर रोकाको शव भएको खुलेको छ । मृतकका भाइ चेतबहादुरले आफ्नो दाजु भएको प्रमाण देखाएपछि शवको पहिचान भएको हो । मृत्युको कारण भने खुल्न नसकेको बताइएको छ ।
-रासस