कार्तिक १४, स्पेनिस कोपा डेल रे अन्तर्गत मंगलबार राति भएको खेलमा एथलेटिको मड्रिड विजयी भएको छ।
प्रिक्वार्टर फाइनलको पहिलो लेगमा एथलेटिको मड्रिडले तेस्रो डिभिजनको सान्ट एन्ड्रु क्लबलाई १–० ले हरायो । बार्सिलोनास्थित सान्ट एन्ड्रुको मैदानमा भएको खेलमा एथलेटिको मड्रिडलाई जित दिलाउनका लागि गेल्सन मार्टिन्सको गोल निर्णायक बन्यो ।
भिटोलोको पासमा मार्टिन्सले खेलको ३३औं मिनेटमा गोल गरेका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसक्दा पहिलो लेगमा एथलेटिकोले जित हात पारेको हो । मंगलबारै भएका अन्य खेलमा ला लिगाका क्लब भ्यालेन्सिया विजयी भएको छ ।
भ्यालेन्सियाले दोस्रो डिभिजनको पुछारमा रहेको इब्रोलाई २–१ ले हरायो । इब्रोको मैदानमा जोनान अमिलिवियाको गोलबाट ६२औं मिनेटमा अग्रता दिलाए पनि सान्टी मिनाले ७१औं र ८०औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई जित दिलाए ।
अर्को खेलमा लेभान्टे दोस्रो डिभिजनको लुगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ भने लेगानेस र रायो भालेकानोले २–२ गोेलको बराबरी खेलेका छन् ।