खरीद ऐनअनुसार काम गर्न निर्देशन

admin

सुर्खेत, १४ कात्तिक : कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सरकारलाई सार्वजनिक खरीद ऐनअनुसार नै विकास निर्माणका काम अघि बढाउन निर्देशन दिएको छ । कर्णाली प्रदेश सरकारका मन्त्री र सचिवहरुलाई बोलाएर समितिले सार्वजनिक खरीद ऐनअनुसार नै विकास निर्माणका कामहरु अघि बढाउन निर्देशन दिएको हो ।

कर्णाली प्रदेशमा गत आर्थिक वर्षको बजेट खर्चको विवरण तथा चालू आर्थिक वर्षको असोज मसान्तसम्मको बजेट खर्च विवरण माग्दै सार्वजनिक लेखा समितिले प्रदेश सरकारसँग आज छलफल गरेको हो । कर्णाली प्रदेशका सबै मन्त्रालयलाई मन्त्रालयले सम्पादन गरेका काम कारवाहीसहितको विवरणका बारेमा बैठकमा छलफल गरिएको समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले जानकारी दिनुभयो ।

छलफलपछि मन्त्रालयबाट आएको विवरणको अध्ययन गरी सरकारलाई थप निर्देशन दिइने समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । लेखा समितिको निर्देशनपछि कर्णालीका मन्त्रीहरु र सचिवहरु समितिको बैठकमा उपस्थित हुनुभएको थियो । लेखा समितिले खर्च विवरणसहित उपस्थित हुन बोलाएपछि विवरणसहित मन्त्री र सचिवहरु बैठकमा उपस्थित भएको सरकारका प्रवक्ता बिमला केसीले बताउनुभयो ।
-रासस

प्रतिक्रिया