डोटी, १७ कात्तिक: नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जनहितविपरीत गरिने कुनै पनि सरकारी निर्णयमा काङ्ग्रेसको सहमति नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटीले दिपायलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिले मुलुकमा शान्ति सुरक्षाको अवस्थामा जटिलता थपिएको र आपराधिक गतिविधिमा समेत वृद्धि भइरहेको छ ।”
पूर्वमन्त्रीसमेत रहनुभएका नेता साउदले नेकपाको सरकार मत्ताहात्ति जस्तो भएर हिँडिरहेको आरोप लगाउँदै कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा र बलात्कारी अहिलेसम्म फेला नपार्नु सरकारको उदासिनता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्मलाका हत्यारा पत्ता लगाएर कानूनी कारवाही गर्नुको साटो सरकारले केही प्रहरी अधिकारीलाई कारवाही गरेर हत्यारालाई उन्मुक्ति दिन खोजिरहेको छ, यो हामीलाई सह्य हुने छैन ।” “हामी सरकारका गतिविधि हेरेर बसेका छौँ, सरकारले बानी नसुधारे एक दिन सडकमा उत्रिनेछौँ”, नेता साउदले भन्नुभयो । नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बमको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
–रासस