ललितपुर, १९ कात्तिक : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले ललितपुरमा कार्यरत प्रहरी कर्मचारीलाई शून्य सहनशीलता अपनाउन निर्देशन दिएको छ । परिसरको निरीक्षण गर्दै कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज प्रहरी कर्मचारीलाई आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै नागरिकलाई सुरक्षा प्रदान गर्न निर्देशन दिनुभएको हो ।
उहाँले परिसरमा कार्यरतलाई आचरण र पोशाक दुवैमा ध्यान दिन पनि सुझाव दिनुभएको हो । प्रहरी नायब महानिरीक्षक थापाले प्रहरी कर्मचारीले आफ्नो परिवारसँग सम्बन्ध सुमधुर राख्नसमेत निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “घरपरिवारसँगको सम्बन्ध चुस्त राख्दा कार्यालयको कामसमेत चुस्त हुन जान्छ ।” जिल्लाको सुरक्षा अवस्थाका बारेमा प्रस्तुति गर्दै परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले प्रहरीले साधन र स्रोत पर्याप्त नभएको बताउनुभयो । सवारी साधन, जनशक्ति, भवनलगायतका अभाव प्रहरीले भोगिरहेको उहाँले बताउनुभयो ।
प्रहरी नायब महानिरीक्षक थापाले परिसरको काम कारवाही, कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन तथा कार्यालयको भौतिक स्रोतसाधन समेतको निरीक्षण गर्नुभएको हो । आज नै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याल, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, जिल्ला अदालतका न्यायाधीश बालमुकुन्द दवाडी र प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले पनि परिसरको निरीक्षण गर्नुभयो ।
-रासस