दुल्लु, २० कात्तिक : दैलेख निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद र स्थानीय तहमा निर्वाचित प्रमुखले ‘उज्यालो दैलेख’ अभियानमा जोड दिएका छन् । निर्वाचन क्षेत्र नंं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा, पार्वती विसुन्के, प्रदेशसभा सदस्य धर्मराज रेग्मी, अम्मरबहादुर थापा, मीनासिंह रखाललगायत क्षेत्र नं १ का छवटै स्थानीय तहका प्रमुखले यस्तो अभियान थालनी गरेका हुन् ।
अभियानमार्फत् एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको निर्वाचन क्षेत्र नंं १ का सबै टोल र बस्तीमा विद्युतीकरण गरिनेछ । उक्त अभियानलाई पूरा गर्नका लागि ग्रामीण विद्युतीकरणका योजना छनोट गरी कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको छ ।
दैलेख निर्वाचन क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको कार्यक्रम परामर्श समितिका संयोजक प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले दैलेख जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गतका सम्पूर्ण स्थानीय तहमा विद्युत् आपूर्ति न्यून भएकाले सबै स्थानीय तहमा विद्युतीकरण गर्ने निर्णय गरेको हो । सबै स्थानीय तहमा विद्युतीकरण गर्ने अभियानमा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने प्रतिनिधिसभा सदस्य पार्वतीकुमारी विसुन्केले जानकारी दिनुभयो ।
स्थानीय प्रदेश र सङ्घीय सरकारको सक्रिय सहभागितामा यो कार्यक्रमलाई प्रभावकारी बनाइने उहाँको भनाइ छ । उक्त अभियानलाई सफल बनाउन विभिन्न दातृ निकायको खोजी गरिने प्रतिनिधिसभा सदस्य विसुन्केले बताउनुभयो ।
यस क्षेत्रमा रहेका छवटै स्थानीय तहलाई उज्यालो बनाउनका लागि तीनवटै तहका सरकारको संयुक्त साझेदारीमा सबै स्थानीय तहमा ग्रामीण विद्युतीकरणका योजना छनोट गरी कार्यान्वयनमा ल्याइनेछ । यस क्षेत्रमा नारायण नगरपालिका, गुराँस गाउँपालिका, डुङ्गेश्वर गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमूले गाउँपालिका र महाबु गाउँपालिका पर्दछन् । यी गाउँ र नगरका धेरैजसो टोलमा विद्युत् सेवा अहिले अझैसम्म पुगेको छैन् ।
–रासस