पर्यटन क्षेत्रमा लगानी गर्न नेपाल मुख्य गन्तव्य:अध्यक्ष ढकाल

admin

काठमाडौँ, २० कात्तिक: नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य रहेको बताउनुभएको छ ।

चाइना एड्भेञ्चर टुरिजम फोरमद्वारा आज यहाँ आयोजित ‘हिमालयन समिट’ कार्यक्रममा उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक धरोहरको अद्वितीय केन्द्र रहेको उल्लेख गर्दै सगरमाथा, उच्च हिमशृङ्खला र बुद्ध जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताउनुभयो ।

उहाँले नेपालमा स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण हुँदै गएकाले पर्यटन, पूर्वाधार निर्माण तथा सेवा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गर्नुभयो । नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न निजी क्षेत्र सहकार्य गर्न सदैव तयार रहेको उहाँले बताउनुभयो । नेपाल र चीनबीच प्राचीनकालदेखि नै रहिआएको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको स्मरण गर्दै उहाँले उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकको सङ्ख्यामा वृद्वि हुँदै गएकामा खुशी व्यक्त गर्नुभयो । सो सम्मेलनमा चिनियाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका लगानीकर्ता तथा प्रतिनिधिसहित करीब सय जनाको सहभागिता रहेको छ ।
-रासस

प्रतिक्रिया