लहान, २४ कात्तिक : वर्षांैदेखि खानेपानीको समस्या खेप्दै आएका सिरहा धनगढीमाई नगरपालिका– १३ दुरविन डाँडामा खानेपानी ट्याङ्की र इन्टेक निर्माण भएपछि स्थानीयवासी खुशी भएका छन् । युनिसेफ, धनगढीमाई नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानबाट निर्माण भएको सो ट्याङ्की, इन्टेकले करीब ८६ घरपरिवार खानेपानीको समस्याबाट मुक्त भएका छन् ।
दुरविन डाँडा खानेपानी उपभोक्ता समिति गठन गरी स्थानीयवासीले करीब एक महीनादेखि खानेपानी ट्याङ्की, इन्टेक निर्माणसँगै करीब सात किलोमिटर पाइप लाइन बिछ्याउने काममा खटिएको समितिका अध्यक्ष इन्द्रबहादुर तामाङले जानकारी दिनुभयो । युनिसेफको रु २५ लाख र नगरपालिकाको रु सात लाख गरी कूल रु ३२ लाखको लगानीमा वि.सं. २०७५ असोज ५ गतेदेखि शुरु गरिएको खानेपानी आयोजनाको काम कात्तिक मसान्तभित्र सक्नेगरी भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।
“लामो समयदेखि खानेपानी समस्या झेल्दै आएका छौँ”, स्थानीयवासी सङ्गीता योञ्जनले भन्नुभयो, “खानेपानीको ट्याङ्की र इन्टेक निर्माण भएपछि पानीको समस्या समाधान भएको छ ।” जनजातीको बसोबास रहेको उक्त बस्तीमा यसअघि खानेपानीको जोहो करीब ३५० फिट तल पर्ने सर्रे खोलाबाट गर्दै आएका थिए । इन्टेक, ट्याङ्की निर्माणको काम सकिएको र बस्तीको टुप्पोमा २० हजार लिटर क्षमताको रिजरभ्वाइर ट्याङ्की निर्माण कार्य भइरहको सो आयोजनाको प्राविधिक इञ्जिनियर रामानन्द चौधरीले बताउनुभयो । स्थानीय सर्रे खोला नजिक बनाइएको इन्टेकबाट विद्युतीय पम्पबाट पानी लिफ्ट गरी ट्याङ्कीमा जम्मा भएको पानी पाइपलाइनमार्फत घरघर पु¥याइने चौधरीको भनाइ छ ।
-रासस