दुई सय सात दलित परिवारलाई राहत वितरण

शर्मिला गुरुङ

बर्दिवास, २६ कात्तिक  :  छठपर्वको मुखमा महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का दलितले खाद्य वस्तु र ओढ्ने कम्बल पाएका छन् । आइतबार बौद्ध भिक्षुहरूले सञ्चालन गरेका आशा र चुनौती नामक संस्थाले उक्त बस्तीको रामनगर, पलार, टोकाटोल र वनराथारुटोलमै पुगेर २०७ दलित परिवारलाई प्रतिपरिवार ३० किलो चामलको बोरा र एक÷एकवटा ओेढ्ने कम्बल प्रदान गरेको हो ।

तराईको मुख्य चाड छठको मुखमा आफूहरुलाई सम्झेर बौद्धभिक्षुकोे सहयोगले पर्वमा नानीहरुलाई खुवाउन र बढ्नै लागेको जाडो छल्न ठूलो राहत मिलेको रामनगरस्थित दलित बस्तीका अगुवा जुगल सादाले बताउनुभयो । मुसहर, बाँतर, चमार, खत्वे र दुसाधसहित दलित जातिका परिवारलाई उक्त संस्थाका प्रमुख बौद्ध भिक्षु सोनाम वाङ्चेनले उक्त सामग्री प्रदान गर्नुभएको थियो ।

“सबैतिर पर्वको रमझम बढी रहेका बेला नानीहरुलाई के खुवाउला भन्ने चिन्ता थियो” पलार बस्तीकी सियानकीदेवी बाँतरले भन्नुभयो, “गुरु (बौद्ध भिक्षु) ले खाने चामल र ओढ्ने कम्बल दिनुभयो, चाडबाडमा नानीहरु के खालान् भन्नु परेन ।” चाडबाडका बेला गरीब र समाजमा आर्थिक एवं अन्य अवसरबाट पछि परेका भङ्गाहा–४का चारवटै बस्तीका दलितसमुदायको अनुहारमा केही खुशी हेर्न पाइने आसले आफूहरुले थोरै सामग्री लिएर आएको बौद्धभिक्षु वाङ्चेनले बताउनुभयो । रासस

प्रतिक्रिया