दैलेख, २६ कात्तिक: ख्यातिप्राप्त प्राज्ञको एक टोली दैलेखका ऐतिहासिक, पुरातात्विकस्थलको अवलोकन भ्रमणमा आएको छ । मङ्गलबारदेखि शुरु हुने दुल्लु सांस्कृतिक महोत्सव तथा बृहत् वाङ्मय गोष्ठीको पूर्वसन्ध्यामा प्राज्ञको टोली सदरमुकाम आसपासका पर्यटकीयस्थलको अवलोकनमा आएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, राष्ट्रिय समाचार समितिका अध्यक्ष श्यामल, प्राज्ञ जगमान गुरुङ, राजाराम सुवेदी, डा मधुसूदन गिरी, दिनेशराज पन्त, जीवेन्द्रदेव गिरी, विष्णुविभु घिमिरे, हेमनाथ पौडेल, सन्ध्या पहाडी, ज्ञानु पाण्डे, धनेश्वर नेपाललगायतले दैलेखको पुरातात्विक, धार्मिक, ऐतिहासिकस्थलको अवलोकन गर्नुभएको छ ।
मध्यपश्चिमाञ्चल साहित्य परिषद्का ॐ रिजालले मुलुककै ख्यातिप्राप्त प्राज्ञलाई दैलेखको इतिहास, कलासंस्कृतिबारे चिनाउन अवलोकन कार्यक्रम आयोजना गरिएको बताउनुभयो । प्राज्ञ तथा स्रष्टाको टोलीले सदरमुकामस्थित कोतगढी, बेलासपुर मन्दिर र भूर्तिस्थित पञ्चदेवलको अवलोकन गरेको छ ।
टोलीलाई जिल्ला समन्वय समितिका संयोजक पे्रमबहादुर थापा, नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का र उपप्रमुख सावित्री मल्लले स्वागत गर्नुभएको थियो । नगरप्रमुख खड्काले नगरपालिकाले गुरुयोजना बनाएर पर्यटन विकासलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव उपाध्यायले हिजोका कर्णाली साम्राज्यले उपहारस्वरुप प्रदान गरेका सम्पदालाई अहिलेको कर्णाली प्रदेशसँग जोड्न स्थानीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो । “देवल, मन्दिरहरु भत्केका छन्, सडक छैन, पर्यटकलाई खाने–बस्ने न्यूनतम सुविधा छैन”, उहाँले भन्नुभयो, “अब स्थानीय जनप्रतिनिधिले सोच्ने बेला आयो, पर्यटन र कला साहित्यबाटै जिल्लालाई समृद्ध बनाउन सकिन्छ ।” यसमा प्रज्ञा–प्रतिष्ठानले आवश्यक सहयोग गर्ने उहाँको भनाइ थियो ।
-रासस