विदुर, २६ कात्तिक: जिल्ला समन्वय समितिको कार्यालयमा बसेको नुवाकोट क्षेत्र नम्बर १ का लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको परामर्श समितिको बैठकमा प्रतिनिधिसभा सदस्यदेखि गाउँपालिका अध्यक्षसम्मले जनताको चाहना र सङ्घीयताको मर्मलाई आत्मसात् गर्दै प्रतिफलमुखी कार्यक्रम सञ्चालन गरिनुपर्नेमा एकै धारणा राखेका छन् ।
नुवाकोट क्षेत्र नम्बर १ का निर्वाचित प्रतिनिधिसभा सदस्य एवं कार्यक्रमका संयोजक हितबहादुर तामाङको अध्यक्षतामा बसेको बैठकमा योजना छनोट गर्दा सम्बन्धित गाउँसभाबाट पारित भएका योजनामध्येबाट छनोट गर्ने र तिनीहरुको प्रभावकारी कार्यान्वयनमा सबैले जिम्मेवारीबोधका साथ प्रस्तुत हुनुपर्नेमा बैठकका सहभागीबीच मतैक्य देखिएको थियो । बैठकमा प्रदेशसभाका उपसभामुख राधिका तामाङ, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिं तामाङ, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश लामा, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे, लिखु गाउँपालिकाका अध्यक्ष धु्रव श्रेष्ठ, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा र सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेको सहभागिता थियो ।
बैठकमा स्थानीय पूर्वाधार विकास कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली, २०७५ का बारेमा जानकारी गराइएको र नियमावलीअनुसार योजना छनोट प्रक्रिया शुरु गर्न सबैको एकमत देखिएको जिल्ला समन्वय अधिकारी सच्युतराज उप्रेतीले जानकारी दिनुभयो । उप्रेतीका अनुसार नुवाकोट क्षेत्र नम्बर २ को परामर्श समितिको बैठक मङ्गलबार बस्ने तय भएको छ । नेपालको संविधानको धारा ८४ को उपधारा १ (क) बमोजिम कायम रहेका निर्वाचन क्षेत्रबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित प्रतिनिधिसभाका सदस्यको संयोजकत्वमा गठित समितिले निर्णय गरी खर्च गर्ने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रुचार करोड विनियोजन गरिएको छ ।
पूर्वाधार विकास साझेदारी कार्यक्रमले नदी, गल्छी, पहिरो नियन्त्रण, सडक निर्माण तथा स्तरोन्नति, खानेपानी तथा सरसफाइ, फोहोरमैला व्यवस्थापन, पर्यटकीयस्थल संरक्षण, लघु जलविद्युत्, स्वास्थ्यचौकी, प्रसूति भवन, वृद्धाश्रम, सार्वजनिक उद्यान, सभागृह, कृषि उपज सङ्कलन केन्द्र, हाटबजार व्यवस्थापनलगायत क्षेत्रमा खर्च गर्न पाउने स्पष्ट व्यवस्था गरेको छ । सोअन्तर्गत आयोजना छनोट गर्दा सम्भव भएसम्म सहभागितामूलक योजना पद्धतिबाट छनोट भएका वा सम्बन्धित गाउँसभा वा नगरसभाबाट पारित भएका योजनामध्येबाट छनोट गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
-रासस