बर्दिया, २६ कात्तिक । बर्दियाको गुलरिया बजार क्षेत्रमा क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिडेका एक अष्ट्रेलियन महिला सहित ४ जनालाई पक्राउ गरिएको छ । घर घर पसेर धर्मको प्रचारप्रसार गर्दै हिडेको सुचनाका आधारमा सोमबार जिल्ला प्रशासन कार्यालय बर्दियाले उनिहरुलाई कार्यालयमा झिकाई चेकजाँच गर्दा घर घरमा गएर धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्र जंग शाहिले बताए ।
चेकजाँच गर्ने क्रममा ती व्यक्तिहरुबाट बाइबलहरु, क्रिश्चियन धर्म प्रचार सम्बन्धि भिडियो र अन्य धेरै पर्चा पम्पलेटहरु र क्रिश्चियन धर्मका धेरै मात्रामा किताबहरु बरामद भएपछि प्रहरीको जिल्ला लगाइएको समेत निमित्त प्रमुख जिल्ला अधिकारी शाहीले बताए । शाहीले भने, ‘ग्रुप बनाएर छ्याप्छ्याप्ती धर्म प्रचारका लागि घरदैलोमा हिँडेको सुचना प्राप्त भएपछि हामीले अनुसन्धान थालेर पक्राउ गरि प्रहरीको जिम्मा लगाएका हौं ।’ प्रहरीले इसाई धर्म प्रचार गर्दै हिडेका पासपोर्ट साथमा नभए पनि पासपोर्ट नम्वर एन ७००७३७११ भएको बताउने अष्ट्रेलियन महिला क्याटीया ग्रान, नेपालगञ्ज निवासी श्वेता मानन्धर र श्रीजन मानन्धर, दैलेखका तेजबहादुर शाही र मधुवन नगरपालिका वार्ड नम्वर ६ बर्दियाका दलबहादुर तिरुवा गरि ४ जना नेपालीसहित १ जना अष्ट्रेलियन महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक सुरेन्द्र प्रसाद मैनालीले बताए ।
भिजिट भिषामा नेपाल छिरेकी विदेशी महिलाले धर्म प्रचारमा लागेको पाइएकाले अनुसन्धान पश्चात उनलाई अध्यागमन विभाग कालिका स्थान काठमाडौं पठाइएको एसपी मैनालीले जानकारी दिए । अनुसन्धानका क्रममा विदेशीसहित अन्य ४ जनाले घरघरमा गई धर्मप्रचार प्रसार तथा विभिन्न प्रलोभनमा धर्म परिवर्तन गर्र प्रोत्साहन गर्न लागेको पाइएकाले मुलुकी अपराध संहिता ०७४ को दफा १५५ बमोजिम धर्म सम्बन्धि कसुरमा मुद्दा चलाइएको बताइएको छ ।