काठमाडौँ, २७ कात्तिक: काठमाडौँ उपत्यका र आसपासका जिल्लाका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई आजदेखि चिनियाँ भाषा तथा संस्कृति सिकाउन थालिएको छ । चीन सरकारको सहयोगमा कलङ्कीस्थित लर्निङ रियल्म, इन्टरनेशनल (एलआरआई) विद्यालय परिसरमा विभिन्न ६० विद्यालयका करीब १५० शिक्षकलाई भाषा सिकाउन शुरु गरिएको हो । आगामी मङ्सिर ११ गतेसम्म सञ्चालन हुने भाषा प्रशिक्षणमा चिनीयाँ संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषा सिकाइनेछ ।
भाषा प्रशिक्षणको आज शुभारम्भ गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो, “नेपालकी छोरी भृकुटी र कलाकार अरनिकोले चीनमा नेपालको सांस्कृतिक सम्बन्धको शुरुआत गरेका थिए ।” भाषा तथा संस्कृतिले दुवै मुलुकको शिक्षा, सभ्यता, प्रविधिको विकास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मन्त्री पोखरेलले अहिले दरबार हाई स्कूललगायत हिमाली भेगका विद्यालयको पुनः निर्माणका साथै मर्मत तथा जीर्णोद्धारमा चिनियाँ स्वयंंसेवकले गरिरहेको सहयोगको सराहना गर्नुभयो ।
यहाँस्थित चिनियाँ दूतावासका प्रतिनिधि झाङ् फानले भाषा सिकाइका माध्यमबाट दुवै मुलुकबीच सदियौँ पुरानो कूटनीतिक सम्बन्धलाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो । बेइजिङ इन्टरनेशनल चाइनिज कलेजका उपसभापति याङ वेईले दुवै देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई जनस्तरमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । एलआरआई विद्यालयका प्राचार्य देवकान्त जोशीले भाषाका माध्यमबाट शिक्षकको क्षमता अभिवृद्धि गरी पछिल्लो समय विकास भएका प्रविधिको ज्ञान उपलब्ध गराउनसकेमा विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।
सहभागी शिक्षिका जानुका नेपालले चिनियाँ विज्ञले सिकाउने चिनियाँ संस्कृतिका साथै भाषाले नयाँ ज्ञान प्राप्त हुनुका साथै चीनका मौलिक परम्पराबारे जानकारी प्राप्त हुने बताउनुभयो । उक्त विद्यालयले मुलुकको राजनीति क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निर्माण गरेको ‘विद्यार्थी संसद्’ कक्षमा देशका ७७ जिल्लाबाट प्रतिनिधित्व हुने गरी विद्यार्थी उपस्थित गराइएको थियो ।
यसैबीच विद्यालयले सञ्चालन गरेको संसद्मा मन्त्री पोखरेलले देशमा लामो समयदेखिको राजनीतिक अस्थिरताका कारण विकास निर्माण तथा आर्थिक सफलता कायम हुन नसकेको उल्लेख गर्दै भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानको नेतृत्व गर्नुभएको छ, केही वर्षभित्र यो मुलुक सम्पन्न हुनेछ, सरकार त्यसतर्फ उन्मुख छ ।”
-रासस