नुवाकोट, २७ कात्तिक: छठका बर्तालुले यहाँको त्रिशूली बजारमा रहेको राममन्दिर घाटमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिए । त्रिशूली नदी किनारलाई सिंगारेर उनीहरुले छठीमाईको पूजाराधना गरे । यहाँ विभिन्न पेशा तथा व्यवसाय गर्दै आएकाहरुले त्रिशूली नदी किनारलाई सिंँगारेर छठ पूजा गर्दै आएको नुवाकोट छठ पूजा समितिका अध्यक्ष रामनाथ पण्डितले जानकारी दिनुभयो ।
छठका लागि घरमा जान नभ्याउनेहरुलाई सहज होस् भनी समिति बनाएर छठ पूजाका लागि व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । त्रिशूलीमा केशकर्तन पेशा गरेर १९ वर्षदेखि बस्दै आउनुभएका गणेश ठाकुरले छठमा घर जान नभ्याउनेहरु मिलेर त्रिशूलीमै छठ मनाउन थालेको बताउनुभयो । “पहिले पहिले छठ मनाउन यहाँ समूह जुट्ने गर्दैनथ्यो । अहिले धेरै छन् यहाँ छठ मनाउने ।
केही वर्षदेखि छठको लागि भनेर घर जानुपरेको छैन”, ठाकुरले भन्नुभयो, “यो वर्ष पनि हामी यहाँ सयौंँ जनाले पूजा आराधना गरिरहेका छौंँ । पोहोर पनि धेरै थिए ।” पछिल्लो पाँच वर्षदेखि त्रिशूलीको सो घाटमा छठको पूजा हुँदै आएको छ ।
-रासस