काठमाडौँ, २८ कात्तिक : सरकारले स्वदेशी हस्तकलाका समान विभिन्न मुलुकमा निर्यात गर्न सम्बन्धित उद्यमीलाई पाँच वर्षसम्म अनुदान दिने भएको छ । नेपाल हस्तकला महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिताको आज उद्घाटन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले हस्तकला क्षेत्रले रोजगारी वृद्धि गरी आर्थिक सशक्तिकरणमा सहयोग पु¥याउने भएकाले यसको संरक्षण र निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो ।
हस्तकलाले लोपोन्मुख कलाकृतिको जगेर्ना र मुलुकलाई समृद्धितर्फ लैजाने उल्लेख गर्दै उहाँले मौलिक कलालाई विश्व बजारको मागअनुसार विकसित गर्नुपर्ने बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले मुलुकको विकास तथा जनताको आर्थिक प्रगतिका लागि सरकारले निजी क्षेत्रको समन्वयमा उत्पादन क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
महासङ्घका अध्यक्ष धर्मराज शाक्यले दक्ष जनशक्तिको अभावले हस्तकला क्षेत्रको उत्पादन घट्दै गएको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई हस्तकला क्षेत्रप्रति आकर्षित गर्न मेला आयोजना गरिएको जानकारी दिनुभयो । आगामी मङ्सिर २ गतेसम्म चल्ने उक्त मेलामा धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढाकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्राकृतिक रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तु राखिएको छ । स्वदेशी तथा विदेशी व्यवसायीका सामग्री प्रवद्र्धन तथा बिक्री गर्न १७० कक्ष राखिएको छ ।
त्यसैगरी १४औँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ ‘मैनको मूर्ति’ र ‘ढाका बुनाइ’ समावेश गरिएको छ । प्रतियोगितामा संलग्न कलाकार तथा कालिगडले जीवन्त प्रदर्शनी थालेका छन् । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार नगद तथा प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
-रासस