शरीरमा हर्मोन र खानपानको गडबडीका कारण लाग्छन यस्ता भयानक रोग !

मनिषा थापा

शरीरलाई चलायमान बनाउन हर्मोन जरुरी छ । हर्मोले शरीरमा सन्देशबाहकको रुपमा काम गर्छ । इन्डोक्राइन ग्रन्थीबाट उत्पादन हुने हर्मोन एक किसिमको केमिकल्स हो, जसले एउटा कोशिकाबाट अर्को कोशिकासम्म सिग्नल पुर्‍याउने गर्छ । यसले शरीरको विकासलाई प्रभावित पार्नुका साथै नर्वस सिस्टमको गतिविधिलाई समेत नियन्त्रित गर्छ ।

मेटाबोलिज्म, प्रजनन क्षमता , मुड, वजन, पाचन तन्त्र, मस्तिष्क तथा भावनालाई समेत असर गर्छ । हर्मोनको उत्पादनमा असन्तुलन कायम भएमा शरीरको पूरै सिस्टम विग्रने भएकाले शरीरलाई स्वस्थ राख्न पनि हर्मोनको सुन्तलन कायम गर्न जरुरी छ ।

हर्मोनको असन्तुलन ?

शरीरमा हर्मोन बढी हुनु वा कम हुनुलाई नै हर्मोनको असन्तुलन भनिन्छ । व्यस्त जीवनशैली, गलत खानपान तथ तनावका कारण हर्मोनको गडबडीको समस्या तिव्र गतिमा बढीरहेको छ ।

उमेर तथा विशेष परिस्थितिका कारण शरीरमा हर्मोनको उत्पादनमा थोरै तलमाथि हुनु सामान्य हो । तर शरीरमा असामान्य तरीकाले हर्मोनको उत्पादन कम वा बढी हुनुले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले चिन्ताको विषय हो यो । किनकी हर्मोनको असन्तुलन तथा गडबडीले कुनै पनि उमेरमा शरीरलाई प्रभावित पार्न सक्छ । शरीरमा एक पटक हर्मोनको गडबडी भएमा यसले पूरै जिवनमा उथलपुथल ल्याउन सक्छ ।

खानपानको गडबडी

अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमली जोशीका अनुसार अहिले जुन किसिमको जीवनशैली अपनाईरहेका छन् र, जुन तरीकाको खानपान गरिरहेका छन्, यसले हर्मोनको गडबडी हुने सम्भावनालाई अझ उच्च बनाउँछ । उनी भन्छन्, ‘अहिले हामी जुन किसिमको जीवन बाचिरहेका छौ, जसरी खानपिन गरिसकेका छौ, यसले जीवनमा कुनै न कुनै बेला अवश्य पनि हर्मोनको समस्या निम्त्याउँन सक्छ । र, यसलाई नियन्त्रण गर्ने एक मात्र उपाय भनेकै खानपिन र जीवनशैलीमा सुधार ल्याउनु हो ।’

जंकफुड, चिल्लो तथा बोसोयुक्त खानपान , गुलियो पेय पदार्थ लगायतका कारण पनि मानिसमा मोटोपना, मधुमेह, उच्च रक्तचाप, पोलिसिस्टिक ओभरी सिन्ड्र्रोम लगायतका समस्या निम्तने गरेको हुदाँ यस्ता खानेकुरा कम खानु पर्ने उनको सुझाव छ ।

कुन अवस्थामा हुन्छ, हर्मोनको असन्तुलन ?

विभिन्न अनुसन्धानले जनाए अनुसार मानसिक स्वास्थ्य र हर्मोनको असन्तुलनबीच गहिरो सम्बन्ध हुन्छ । कुनै व्यक्तिलाई मानसिक समस्या हुनुमा मस्तिष्क कारक नभई हर्मोनको असन्तुलन मुख्य कारक हुनसक्छ । विभिन्न साइकोलोजिकल अध्ययनहरुले पनि यो निष्कर्ष दिएको छ कि हर्मोनको स्तरमा बदलाव हुनु भनेको केही विशेष किसिमको मानसिक समस्याका कारण बन्न सक्छ ।

उदाहरणको लागि किशोरावस्था । किशोरावस्था किशोरकिशोरीहरुका लागि संवेदनशील अवस्था हो । यस अवस्थामा किशोरकिशोरीहरुमो मनमा नानाथरी कुरा खेल्छ । उनीहरुको मुड बेलाबेलामा बदलिने गर्छ । जसले गर्दा उनीहरुमा चिडचिडापन हुने गर्छ । कहिलेकाही यही चिडचिडापनका कारण उनीहरु कुलतमा फस्ने गर्छन् ।

मनोविद्हरुका अनुसार कुनै–कुनै किशोरकिशोरीहरुमा किशोरावस्थामा हुने यस्तो लक्षण जिवनभर रहने गर्छ । यो लक्षण मुड हर्मोनको कारण देखिने गर्छ । जसका कारण महिनावारीको समयमा महिलाहरुमा मानसिक उथलपुथल देखिने गर्छ । र, यो समस्याको पछाडी न्युटि्रसन, हर्मोनको असन्तुलन, आणुवंशिक लगायतका थुप्रै कारण हुनसक्छ ।

शोधकर्ताहरुका अनुसार गर्भावस्थाका कारण पनि हर्मोन सम्बन्धि गडबडी हुने गर्छ । हर्मोन सम्बन्धि गडबडीकै कारण कतिपय महिला गर्भावस्थामै डिप्रेश हुने गर्छन् भने कतिपय सुत्केरी अवस्थामा पोस्ट पार्टम डिप्रेशनको शिकार हुने गर्छन् ।

मनोविद्हरुका अनुसार अहिले यो समस्या महिलाहरुमाझ आम बन्दै गएको छ । तथापी, गर्भावस्था पछि हुने डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । किनकी शिशुको जन्म पश्चात्त महिलाहरु शारीरीक, मानसिक तथा सामाजिक बदलावका कारण डिप्रेशनमा पर्ने गर्छन् । उनीहरुको मनभित्र तथा बाहिर विभिन्न किसिमको उथलपुथल हुने गर्छ । जसले गर्दा प्रभावित हर्मोल अझ बढी प्रभावित हुने गर्छ ।

रजनोवृत्ति चालीस देखि पचासको दशकमा सुरु हुन थाल्छ । पौष्टिक तत्वको कमी, अत्याधिक तनाव तथा विगि्रएको जीवनशैलीका कारण शरीरमा जुन किसिमको हर्मोनको असन्तुलन हुने गर्छ, त्यसले गर्दा आजकल समय अगावै रजनोवृत्ति हुन्छ ।

अनियमित महिनावरी तथा ४५ देखि ५० को उमेरभन्दा पहलिको रजनोवृत्ति दुवैमा ओभरियन सिन्ड्रोमको समस्या लुकेको हुन्छ ।

किनकी शरीरमा एस्ट्रोजन र प्रोजेस्टेरोन नाम हर्मोनको कमीले शारीरी तथा मानसिक स्थितिमा बदलाव आउने गर्छ । तर जब रजनोवृत्ति ३० देखि ४० वर्षको बीचमा हुने गर्छ, तब स्वभाविक रुपमा व्यक्तिमा चिन्ता र डर छाउने गर्छ । विशषगरी, महिलाहरु बूढो देखिने भयले पनि डर, तनाव र चिन्तामा रहने गर्छन् ।

हर्मोनको असन्तुलन भएमा के हुन्छ खतरा ?

प्रभावकारी उपचारको अभावमा शरीरमा हर्मोनको असन्तुलन भएमा शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्दछ । उदाहरणको लागि मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मुटु रोग, मोटोपना, ओस्टियोपोरोसिस, गर्भावस्था तथा स्तनको क्यान्सर, डिप्रेसन इत्यादी । त्यस्तै, हर्मोनकै असन्तुलनका कारण पोलिसिस्टिक ओभरी सिन्ड्रोम भएमा बाझोपना, गर्भपतन, जेस्टेशनल डायविटिज, माटोपना हुनसक्छ ।

जीवनका लागि उपयोगी हर्मोन

कार्टिसोल

एडि्रनल ग्रन्थीमा पाइने एक महत्वपूर्ण हर्मोन हो, कार्टिसोल । यो हर्मोनको कमी भएमा निद्रा लाग्ने, चक्कर आउने, नङ टुक्रने, रगतमा चिनीको मात्रा बढ्ने, तौल बढ्ने लगायतका समस्या देखिने गर्छ ।

थाइराइड

थाइराइड ग्रन्थीले थाइराईड हर्मोनको उत्पादन गर्छ । जसले शरीरको उर्जाको प्रयोगको कार्यविधिलाई प्रभाविभत पार्ने गर्छ । शरीरमा थाइराइड हर्मोनको कमी भएमा डिप्रेसनको समस्या, ढिलासुस्ती, कब्जियत, छालाको सुख्खापना, ज्यादा निद्रा लाग्ने तथा कपाल झर्ने समस्या हुन सक्छ ।

एस्ट्रोजन

शरीरमा एस्ट्रोजनको स्तरमा गडबडी भएमा मुटु रोग, मुत्रासयमा संक्रमण, डिप्रेसन, क्यान्सर, माइग्रेन, मोटोपना तथा पित्तासय सम्बन्धि समस्या उत्पन्न हुने गर्छ ।

प्रोजेस्टेरोन

शरीरमा प्रोजेस्टेरोन नामक हर्मानको कमी भएमा अनिद्राको समस्या, स्तन दुख्ने, तौल बढ्ने, टाउको दुख्ने, तनाव तथा बाझोपना जस्ता समस्या हुने गर्छ ।

टेस्टेस्टेरोन

टेस्टेस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भन्ने गरिन्छ । महिलाको शरीरले यो हर्मोन बढी उत्पादन गरेमा पिम्पल्स आउने, हात, खुट्टा तथा अनुसारमा रौ पलाउने, अत्याधिक मात्रामा कपाल झर्ने, बाझोपना हुने लगायतको समस्या निम्तने गर्छ ।

इन्सुलिन

शरीरमा इन्सुलिनको कमी भएमा मधुमेह, थकान, अनिद्रा, स्मरण शक्ति कमजोर हुने, तिव्र गतिमा तौल बढ्न लगायतको समस्या निम्तन सक्छ ।

कसरी बनाउने सन्तुलन ?

हर्मोन सम्बन्धि समस्याबाट टाढा रहन सबैभन्दा पहिले तनाव कम गर्नु पर्छ । प्रकृतिसित जोडिनु पर्छ । खानपान तथा जीवनशैली सुर्धानुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । अनावश्यक तनाव पाल्नु हुँदैन । गहिरो निद्रा सुत्नु पर्छ । पर्याप्त मात्रामा पानी पिउनु पर्छ ।

फास्टफुड तथा जंकफुड खानु हुँदैन । पौष्टिक तत्वयुक्त आहार सेवन गर्नु पर्छ । विहान, दिउसो र बेलुकीको खाना क्यालोरी मिलाएर खानुपर्छ । खानामा हरियो साजसब्जी, फलफुल तथा सलादको मात्रालाई बढाएर भात, च्याख्ला लगायतका अन्नलाई कम गर्नुपर्छ । अर्गानिक खाने कोशिश गर्नु पर्छ ।

प्रतिक्रिया