सनी लगातार तेस्रो पटक च्याम्पियन

admin

काठमाडौँ, ३० कात्तिक: नेपाली सेनाका सनी सुनार वज्र फाइटको पुरुष ७६ केजीमुनिको खेलमा च्याम्पियन बनेका छन् । नेपाल क्योकुसिन कराते डो सङ्घ वज्रद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सनीले थाइ बक्सिङका अनिल तामाङलाई पराजित गर्दै लगातार तेस्रो पटक च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ५५ केजीमुनि एपीएफका अजित महर्जन पहिलो भए । महर्जनले थाइ बक्सिङका दीपेन्द्र खनाललाई हराए । अर्को ५५ केजीमुनिको प्रतिस्पर्धामा वज्रका महेश भुजेल प्रथम भए । उनले नक्साल बक्सिङ क्लबका यानभ थुलुङ राईको चुनौती समाप्त पारे ।

६२ केजीमुनि सेनाका चोपबहादुर बुढाथोकी विजयी भए । उनले नक्सालका अभिषेक राईलाई निराश पारे । त्यस्तै ६२ केजीमुनिकै अर्को भिडन्तमा बनेपा डोजोका सजित प्रजाले शीर्ष स्थान हात पारे । उनले थाइ बक्सिङका सुदीप श्रेष्ठलाई पराजित गरे । पुरुष ६९ केजीमुनि सेनाका विकास गुरुङ विजयी भए । गुरुङले बनेपाका प्रवीण मेचेलाई पराजित गर्न सफल भए ।

महिला ५१ केजीमुनि नक्सालकी तेजी गुरुङ पहिलो भइन् । तेजीले एपिएफकी मनीषा राईलाई हराइन् । विजेतालाई आयोजक सङ्घका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्पमान मानन्धरलगायतले पुरस्कृत गर्नुभयो । एक दिने प्रतियोगितामा १४ खेलाडीले सहभागिता जनाएका थिए ।
-रासस

प्रतिक्रिया