काठमाडौँ, ३ मङ्सिर : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा इन्दिरा श्रेष्ठ चयन हुनुभएको छ । यसअघि कार्यसमिति सदस्य रहनुभएकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।
इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि उहाँले सो पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिनुभयो ।
“त्रिभुवन विश्वविद्यालयको सहप्राध्यापक श्रेष्ठले काठमाडौँ महानगरपालिकाका महिला उद्यमीको आर्थिक तथा सामाजिक अवस्थाका विषयमा त्रिविबाट विद्यावारीधि उपाधि प्राप्त गर्नुभएको छ । समाजसेवा तथा शिक्षा क्षेत्रका विभिन्न सामाजिक संस्थामा आबद्ध रही ग्रामीण तहका जनताको जीवनस्तर सुधार्न उहाँले योगदान गर्नुभएको छ ।
-रासस