काठमाडौँ, ४ मङ्सिर: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा गणतन्त्रको स्थापना भएपनि आर्थिक समृद्धि कायम नभएकाले जीविकोपार्जनमा समस्या आएको बताउनुभएको छ । पार्टीले यहाँ आज आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति र राजतन्त्रको पुनस्र्थापनाको खतरा’ विषयक अन्तरक्रियामा उहाँले उत्पादन र वितरण प्रणालीमा यान्त्रिकीकरण नभएसम्म सामाजिक परिवर्तन, आर्थिक विकास र सामाजिक न्याय कायम हुन नसक्ने बताउनुभयो ।
पूर्वउपप्रधानमन्त्री केसीले कम्युनिस्ट पार्टीको एकताबाट निर्माण भएको दुई तिहाइ जनादेशको सरकारले शान्तिसुरक्षा, महँगी नियन्त्रण गर्न नसक्दा जनता अहिलेको राजनीतिक व्यवस्थाप्रति नै निराश बनेर राजतन्त्र फर्कने खतरा रहेकामा चिन्ता व्यक्त गर्दै दलहरुलाई त्यसतर्फ संवेदनशील बन्न आग्रह गर्नुभयो ।
स्वदेशी उत्पादनलाई संरक्षण गर्न नसकिएका कारण मुलुकमा आयात बढेको तथा बहुराष्ट्रिय कम्पनीको उत्पादनको प्रयोगले व्यापार घाटा थपिएको उहाँको भनाइ थियो । कार्यक्रममा पार्टीले प्रस्तुत गरेको अवधारणापत्रमा अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका कारण मुलुकमा राजतन्त्र पुनस्र्थापना हुने खतरा रहेकाले यसप्रति सबै सचेत हुन भनिएको छ ।
-रासस