बेवारीसे १८ बालबालिका आफन्तको जिम्मा

admin

दोलखा ४ मङ्सिर: जिल्ला प्रहरी कार्यालयले ६ महीनाको अवधिमा बेवारीसे अवस्थामा रहेका १८ बालबालिका फेला पारी आफन्तको जिम्मा लगाएको छ । प्रहरीले सो अवधिमा बालिका सात र बालक ११ गरी फेला पारेका बेवारिसे बालबालिकालाई आफन्तलाई बुझाएको हो । काठमाडौँको एक बाल संरक्षण केन्द्रबाट भागेका चार र कालिञ्चोक गाँउपालिकाबाट भागेका दुई गरी छ बालबालिकालाई आज प्रहरीले खरीढुङ्गा चेकपोष्टमा फेला पारी आफन्तको जिम्मा लगाएको छ ।

काठमाडौँमा रहेको अधिकारको लागि बाल संरक्षण केन्द्र (सिपिसिआर) बाट गत कात्तिक २४ गते भागेका बालाजुस्थित माछापोखरी बस्ने कुमार भुजेलका ११ वर्षीय छोरा बिपिन भुजेल, रामेछाप घरभै स्वयम्भु बस्ने कुमारी थामीका छोरा वर्ष १० का बिनोद थामी, मकवानपुर घर भै सुन्धारा बस्ने रमेश श्रेष्ठका छोरा वर्ष १० का रोशन श्रेष्ठ र दैलेख घरभै काठमाडौँ बस्ने राम खड्काका छोरा समिर खड्कालाई उक्त चेकपोष्टमा चेकजाँचको क्रममा फेला पारी आफन्तको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताउनुभयो ।

यस्तै गत कात्तिक २५ गते घरबाट हराएका कालिञ्चोक गाँउपालिका–१ का १४ वर्षीया सिता थामी र १३ वर्र्षीया ज्ञानी थामीलाई पनि आज सवारी चेकजाँचको क्रममा खरीढुङ्गामा फेला पारी परिवारलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो । अधिकांश बालबालिका घरमा परिवारको माया नपाएको, आर्थिक अवस्था कमजोर रहेको, मादक पर्दाथ सेवन गरी बुबाआमा झगडा गर्ने जस्ता कारणले घरबाट भागेको सोधपुछको क्रममा उनीहरुले बताएका प्रहरीले जनाएको छ । प्रहरी अध्ययनमा दोलखामा यसरी घर छाडेर हिड्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको र यसले जबर्जस्ती करणी, मानव तस्करी, हत्याजस्ता अपराधिक घट्ना बढ्न सक्ने प्रहरी अनुमान छ ।
-रासस

प्रतिक्रिया